१. छ्योठूल दुछेन्
यो बुद्ध शाक्य मुनिका चार महत्वपूर्ण दिवसहरुमध्ये एक हो । बुद्धले श्रावस्ती नगरमा धार्मिक शक्ति प्रदर्शन गरी ६ जना तैर्थिक (अबौद्ध) का साधुहरुलाई परास्त (हराएको) उपलक्ष्यमा मनाइने दिवस हो । फगुणशुक्लपक्ष परेवादेखि र्पूिर्णमा सम्म ठूलो पूजा सामाग्रीहरु भव्य रुपमा सजाई यो धर्मोत्सव मनाइन्छ । पहिले भोटको राजधानी ल्हासामा यही पूनीत अवसरमा हजारौं लामा भिक्षुहरु भेला गराई मोनलाम छेनमो (महापूजा सम्मेलन) आयोजन गर्ने परम्परा थियो । हाल यहाँ परेवाको दिनबाटशुरु गर्ने नसके पनि अन्तमा पूर्णिमाको एकदिन मात्र भए पनि गोन्पाहरुमा यो धर्मोत्सव मनाउने गरिन्छ ।
२. ञ्युङन्य तोङगु
महायान बौद्ध परम्परा अनुसार बुद्ध जयन्ती, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण जस्ता तीन महत्वपूर्ण दिवसको उपलक्ष्यमा मनाइने धार्मिक पर्व हो । बैशाख शुक्ल पक्षको परेवादेखि कृष्ण पक्षको परेवा तिथि सम्म अष्टशील लिएर १ दिन १२ बजे एकछाक भोजन (गुङछिग) गर्ने र अर्को दिन अष्टशील लिएर केही नखाई बोल्दा पनि नबोली, अवाक भई शील पालना गर्ने परम्परालाई ञ्युङन्य (शान्त भई बस्ने ब्रत) भनिन्छ । यसरी १६ दिनसम्म लगातार शील लिएर ब्रत बस्ने परम्परालाई ञ्युङन्य करपो क्षग्य भनिन्छ । कुनै ठाउँमा यो पूजा महिनौं सम्म गरिरहेको हुन्छ भने कुनै गोम्पामा क्षचिग, क्षञ्यी (२÷४ दिन) सम्म भए पनि अटुट गरिरहेको छ ।
३. ञ्युङन्य
औशी पूर्णेको पवित्र दिनहरुमा विहान अष्टशील लिएर दिउँसो १२ बजे एक छाक भोजन गरी १ दिन वा २४ घण्ठा शील पालन गर्ने परम्परालाई ञ्युङ्न्य भनिन्छ । आफ्नो घरमा नै अष्टशील लिएर भए पनि यो ब्रत पालना गर्न सकिन्छ । ञ्युङन्यका अवसरमा अलि अस्वस्था मानिसहरुले अष्टशील लिएर यस प्रकारले शील पालना गरेपनि मिल्छ ।
४. साकादावा
यो बुद्ध पूर्णिमा वा बैशाख पूर्णिमा भनेको हो र बुद्ध शाक्य मुनिको महत्वपूर्ण दिवसहरु मध्ये एक हो । महायान परम्परा अनुसार यो पर्व जेठ शुक्लपक्षचतुर्दशीबाट आरम्भ गरी पूर्णेको दिन अष्टशील लिएर ब्रत बस्ने तथा तेस्रो दिन वा कृष्णपक्षीय परेवाको दिन बेलुका गणचक्र पुजा र दीर्घायुको अभिषेक गरिन्छ । कुनै गोम्पामा साकादावा र ञ्युङन्य दुईवटै मानिरहेको हुन्छ भने ञ्युङन्य गर्न नसकेका गोम्पाहरुमा सगदावा गरी बुद्ध जयन्ती मानेको विधि गरिन्छ ।
५. डुम्ची
यो शेर्पा नायक (राजा) साङवा दोर्जेको जन्म जयन्तीको रुपमा मनाइने ठूलो चाड हो । प्रायः जेष्ठ महिनाको शुक्लपक्षको दशमी देखि पूर्णे सम्म धेरै लामाहरु पढाएर पाठ पूजा र लामा नृत्य (क्ष्याम) इत्यादि साँस्कृतिक कार्यक्रमको आयोजनागरी धूमधामका साथ यो चाड मनाइन्छ । पहिले पहिले सबै शेर्पा गाउँमा समान रुपमा यो चाड मानिरहेको भएतापनि पछि विभिन्न कारणवश मान्न छाडेकाले हाल सीमित सोलुखुम्बु जिल्लाको शेर्पा गोम्पाहरुमा मात्र मानिरहेको छ ।
६. टुग्पा छेश्यि
बुद्ध शाक्य मुनिले बाराणशी नगरको सारनाथमा सर्वप्रथम पञ्च वर्गीय भद्रशिष्य संघलाई धर्मदेशना दिनूभएको उपलक्ष्यमा यो धर्मोत्सव मनाइन्छ । प्रायः श्रावन महिनाको शुक्लपक्षको चतुर्दशीमा मनाइने यो धर्मोत्सव दिवसलाई छ्योखोर कोर्वी दुछेन (धर्म चक्र प्रवर्तन दिवस) पनि भनिन्छ । मंगोलको छैटौं महिना (टुग्पा) को चौथी (छेश्यी) मा पर्ने भएकाले टुग्पा छेश्यी भनिएको हो । यो बुद्ध शाक्यमुनिको महत्वपूण दिवसहरु मध्ये एक हो । यो दिनबाट बाल बच्चाहरुलाई विद्याध्ययनको लागि शुभारम्भ गर्ने गरिन्छ ।
७. टेल दाइ छेच्यु
गुरु रिन्पोछेको जन्मोत्सवको रुपमा मनाइने एउटा महत्वपूर्ण धार्मिक दिवस हो । श्रावण शुक्लपक्षको दशमी तिथिमा यो पर्व पर्दछ । नग्ची (ज्योतिषशास्त्र) को आधारमा गणन गर्दा यो दिवसको अवसारमा पर्ने भएपनि तिब्बती परम्परा अनुसार श्रावण महिना बाँदर महिना पर्ने भएकोले टेल्दाइ छेच्यु भनिएको हो ।
८. यार च्याङ
यसको मतलव बर्षे चाड भन्ने हुन्छ । यो उँभौली लागेपछि चौरी गोठ पाल्ने शेर्पाहरुले सामूहिक रुपमा देवता पुज्ने धार्मिक पर्व हो । त्यस अवसरमा चौरी गोठालाहरु सबैले सजाएर आएको गोप्रे र धूपीको ध्वजा बलोहरु एकै ठाउँमा उठाएर देवता पुज्ने गर्दा लामा पढाएर साङ सेरक्येम (स्थानीय देवदेवी र सिमेभूमे) बुझाइने, हिमाली चौरी याकको रुवरुप बनाएर पूज्ने गरिन्छ । यो चाड कुनै शेर्पा गाउँमा सामूहिक रुपमा माने पछि फेरी आ–आफ्ना घरमा मान्ने गरेको र कुनै ठाउँमा १ दिन त कुनै ठाउमा ३ दिन सम्म सामूहिक रुपमा मानेको पाइन्छ ।
९. छेच्यु
यो हरेक महिनाको शुक्लपक्षको दशमी (छेच्यु) पर्वमा मान्ने गुरु रिन्पोछेको जन्म दिवस हो । गुरु रिन्पोछेले प्रत्येक महिनाको दशमी (छेपाच्यु) मा विभिन्न शिक्ष्य वर्गको आशय अनुसार विभिन्न धर्मलीला देखाउनु भएकाले त्यस पूनित तिथिको शुभ अवसरमा मनाइने पूजा भएकाले छेच्यु (दशमी पूजा) भनिएको हो । भोट बासीहरुका लागि अत्यन्त कृतज्ञ गुरु रिन्पोछेको आशीर्वाद प्राप्त गर्न शेर्पा समाजमा बाह्रै महिना अटुट रुपमा दशमी पूजा मनाइरहेको हुन्छ ।
१०. ञेर्ङा (गुरु पूजा)
यो दिन डाकिनी येशे छोग्यल इत्यादि देवीको जन्म दिवस तिथि मान्ने पूजा हो । त्यसैले यस दिन गर्ने पूजालाई तिथिको नामबाट ञेर्ङा भनिन्छ । ञेर्ङा भनेको लामा भाषामा कृष्णपक्ष दशमी तिथिको नाम हो । यस दिन देवीको पूजा गरेमा शीघ्र देवीको आशिष प्राप्त हुन्छ भनिएको छ । त्यसैले शुक्लपक्षको दशमीमा गुरु रिन्पोक्षे को पूजा गरे जस्तै कृष्णपक्षको दशमीमा डाकिनीको ञेर्ङा पूजा गरिन्छ ।
११. मणि रिम्टा
सन् १९१९ मा जारोङफु गोम्पाको औतारी ङ्वाङ् त्यञ्जिन नोर्बु लामा खुम्बुमा तेङपोक्षे गोमपाको जीवन्यास (राबन्य) पूजा गर्न पाल्नु हुँदा उहाँका आज्ञानुसार शुभ आरम्भ गरेको मणि रिम्टो (ॐमणिपद्मे हुँ ह्री) अवलोकितेश्वरको मूल मन्त्र जम्ने पूजा विधि हो । त्यसपछि सोलु तिरको गोम्पामा पनि मान्न थालेको छ । पहिले यस विधिको प्रारम्भ मंसीर महिनामा गरेको भए पनि अनुकूलित वातावरण नहुँदा आजकल कार्तिकशुक्लपक्षको दशमी तिथिबाट शुरु गरी पूर्णिमाको भोलि पल्ट सिद्धयाइन्छ । अन्तमा क्षाम (सामूहिक लामा नृत्य) लगायत विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनागरी धूमधामका साथ मनाइने यो पर्व हाल स्वदेशी विदेशी पर्यटकहरुको लागि पनि निकै लोकप्रिय भएको छ ।
१२. ल्ह— बब्पी दुछेन
यो बुद्ध शाक्य मुनिको महत्वपूर्ण दिवसहरु मध्ये एक हो । बुद्ध देवलोकमा आफ्नो आमा मायादेवीको लागि धर्म देशना गर्न पाल्नु भई पुनः मनुष्यलोकमा फर्किनु भएको निवस हो । यो ल्ह– बब्पी दुछेन (देव अवतरण निवस) सालिन्दा कार्तिककृष्णपक्षको सप्तमी तिथिमा पर्दछ । देवलोकबाट बुद्ध मनुष्य लोकमा आगमन भएको उपलक्ष्यमा स्वागत समारोहको रुपमा मानिने यो दिवसमा पूजा पाठ, दीपावली र धर्म देशना बुद्ध स्तुति पाठ गर्ने कार्यक्रमको आयोजना गरी मनाइन्छ ।
१३. मणि छ्योकोर
यो पूजा गर्दा विभिन्न सामग्रीहरुबाट भव्य रुपमा सजाएको पूजामण्डलमा अवलोकितेश्वर (फग्पाच्यन¥यश्यिग्) को मूर्ति स्थापना गरी लामा गुरुहरुद्वारा मणि पाठ गाराई भक्तजनहरुले सामूहिक रुपमा मणि पाठको अनुकरण गर्दै र उक्त मण्डलको प्रदक्षिणा गर्दै परिधि लगाएर नाच्ने परम्परालाई मणि छ्योकोर भनिन्छ । यो परम्परा कुनै शेर्पा गाउँमा दशै पर्वको दिनमा, कुनै गाउँमा माघ महिनाको छेच्यु (दशमी पूजा) को अवसर पारेर तथा कुनै ठाउँमा मरण संस्कारमा पनि परम्परागत रुपमा मानिने गरेको पाइन्छ । यो परम्परा धर्मको नाम लिन नचाहने लोक गृहस्थीहरु धर्मको बाटोमा लगाउने उपाय कौशल्यको रुपमा गूरुले यस्तो विधि अपनाएको देखिन्छ ।
१४.साङतोङगु
धूप पूजा गर्ने चलन, घर गोठ र गोम्पाहरुमा सफा सुग्घर पारी धूपवत्ती र सुगन्धयुक्र जडीबुटीका बस्तुहरु आगोमा हवन दिई साङ पाठ उच्चारण गरिन्छ, भगवानको पूजा सत्कार र सांसारिक देवदेवीहरुलाई मानमनितो गर्ने गरिन्छ । यसरी धार्मिक प्रकृयाबाट चोखो एवं अनुकूलित वातावरण बनाइने परम्परालाई साङतोङगु भनिन्छ । शेर्पा समाजमा विहान बेलुकीमात्र नभई जुनसुकै कार्यको शुभारम्भ गर्दा पनि अनविार्य साङ पूजा गर्ने चलन छ ।
१५. छेवाङ् श्वप
यसको अर्थ दीर्घायू अभिषेक (चिरायुको आशीष) लिनु भनेको हो । मानिसहरु विमार भइरहेका, तर्सेर सातो गएको भएमा र नाराम्रो सपना देखेमा, ठूलो लामा गुरुकहाँ गई दीर्घायूको पूजा गराइन्छ । यसका लागि विश्वमा पाइने दीर्घायुका साधनहरु जोर जम्मा पारी विभिन्न प्राकृतिक जडीबुटीका बस्तुहरु मिसाएर डल्लो बनाएको आयु गुटिका, औषधीमूलो सुगन्धित बस्तुहरु फूलको केशर, कपुर इत्यादि द्रव्यहरु मिसाएर बनाएको सुगन्धयुक्त जल(ठू) विभिन्न प्रकारका धार्मिक द्रव्यहरु देवमण्डलमा सजाएर तान्त्रिक विधि अनुसार पूजा गरी विमारीलाई जल र प्रसाद खुवाउँदै उपचार गर्ने विधिलाई “छेवाङ् श्व” (दीर्घायु अभिषेक लिनु) भनिन्छ ।
१६. छे थार्
यसको अर्थ प्राणदान गर्नु हो । कसैलाई लामो समयसम्म रोगले नछाडेमा, जीउ सन्चो नभएमा र सातो नभएमा आफ्नो पूर्व जन्मको कर्मफल भनठानी त्यो निवारण गर्ने उपाय स्वरुप अरुले मार्न लागेको चरा चुरुङ्गी र माछा इत्यदि पशु पंक्षीहरुको लाग्ने मोल तिरेर प्रार्थना गर्दै छाड्ने र उडाउने परम्परालाई “छे थार तोङगु” भनिन्छ । यस प्रकृयाबाट छे थार गर्ने दाता दीर्घायु र ऐश्वर्य सम्पन्न हुन्छ भनिएको छ ।
१७. याङगुकुग
यो लच्छिन बोलाउनु भनेको हो । घर गोठको लच्छिन गएको, खाद्यान्नमा सह नभएको र जहान परिवारमा अस्वाभाविक लक्षण देखेको अवस्थामा यस्तो अवगुण नहोस् भन्ने उद्देश्यले यो पूजा पाठ गरिन्छ । यसका लागि विभिन्न प्रकारका टुटफुट नभएको लक्षणयुक्त धन द्रव्यहरु जुटाई विधिपूर्वक सजाएर घर, गोठ र मान्छे लच्छिन आउन भनि यो पूजा गर्ने परम्परा छ ।
१८. छ्योदर
यसको शाब्दिक अर्थ धर्मको ध्वजा भन्ने हुन्छ । अत्यन्त महत्वपूर्ण मन्त्रहरु छापेको पाँच रंगको रंगविरंगका कपडाहरु लामो काठको बलोमा टाँगेर लामा गुरुद्वारा जीवन्यास (राबन्य) पूजा गराई घर आँगनमा, मूलबाटो, गलछिडो र डाँडा पाखामा उठाई फर्फराईन्छ । यो सम्य परम्परालार्ई छ्योदोर लोङ्गु भनिन्छ । यसबाट दाताको दशा ग्रह काट्ने, यो फफराएको आवाज र यसको हावा लागेका प्रणीहरु शुद्ध हुने तथा हावा जहाँसम्म दौडिन्छ त्यस दिशासम्म बुद्ध शासन फैलिन्छ भन्ने धार्मिक मान्यता छ । यसै उद्देश्यद्वारा ओतप्रोत भइ यो धार्मिक ध्वजा फरफराउने गरिन्छ ।
१९. राबन्य
यो भनेको जीवन्यास (प्राण प्रतिष्ठान) पूजा गर्नु भनेको हो । हाम्रो समाजमा मूर्ति, गाङका, गोम्पा, चैत्य र मणि इत्यादि प्रतिष्ठान र धार्मिक स्मारकहरु स्थापना गरेपछि त्यसलाई त्यतिकैमा सीमित नराखी सजीव पार्ने विधि गरिन्छ । यसका लागि अवस्था हेरी पुजा आजा गन्छि । यस अवसरमा ठूलो लामा गुरुले आध्यात्मिक शक्तिद्वारा ज्ञानकाय बुद्ध आव्हान गरी प्रतिमा वा प्रतिष्ठानमा पसाईन्छ । त्यस पछि उक्त मूर्तिहरु माटो अथवा धातु जे को भएपति साक्षात् बुद्धमा परिणत भएको मानिन्छ । यस परम्पराको विधिलाई राबन्य (सजीव) गरेको भनिन्छ ।
२०. मङच्यु तोङगु
यो भनेको गोम्पाको लामा गुरुहरुलाई सामूहिक चिया वितरण गर्नु भनिएको हो । आफू वा अरु आफन्तहरुको नाममा केही आवश्यक पाठपूजा गर्नु परेमा अथवा केही उपकार गर्नु परेमा चियाको व्यवस्था गराई लामा गुरुहरुलाई सामूहिक रुपमा चिया वितरण गरेर पूजा गराउने परम्परालाई मङ्च्यु तोङ्गु भनिन्छ । यस अवसरमा कसैले दान दक्षिणा पनि प्रदान गर्ने गरिन्छ । यसरी प्रदान गरिने दान दक्षिणालाई कुन्ग्ये ग्यग्कु भनिन्छ ।
२१. जिन्पा तोङगु
यसको सामान्य अर्थ दान दिनु भन्ने हुन्छ तर शेर्पा समाजका मान्यता अनुसार जिन्पा तोङगु भन्दा जीवितकृया भन्ने बुझिन्छ । धार्मिक प्रवृत्ति र आर्थिक अनुकूलता मिलेको श्रद्धालु शेर्पा महानुभावहरुले यसरी जीवितकृया (जिन्पा) गर्दा पछि मरणकृया (संस्करण) गर्न अनुकूल नपरे पनि यसैबाट हुने गरी जिन्पा गर्ने चलन छ ।
२२. कोछ्याङ तोङगु
यसको शाब्दिक अर्थ आलोपालो गरी जनपान गराउने भन्ने हुन्छ । कसैले आफन्तको नाममा जलपानको व्यवस्था गरी छर छिमेकीहरुलाई खुवाएर कोरछ्याङ गर्ने चलन छ भने कसैले अरुले कार्जे गरिरहेको बेलामा त्यसबीचमा त्यहाँ उपस्थित जनसमुदायलाई जलपान गराएर कोरछ्याङ गर्ने र कसैले तीर्थयात्रामा जाँदा तीर्थयात्रीहरुलाई एक दुई दिनको अन्तरालमा एक अर्कोले आलोपालो गरी जलपान गराउने हुँदा कोरछ्याङ तोङगु भनिएको हो ।
Comments
Post a Comment