शेर्पा जातिको परम्परागत विवाह संस्कारमा गरिने विधि अनुष्ठान
शेर्पा जातिको महत्वपूर्ण संस्कारहरु मध्येको विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको बढी प्रभाव रहने गरे तापनि पछिल्लो समयमा प्रेम विवाह पनि छिटफुटरुपमा चल्ने गरेको पाईन्छ । विवाह संस्कारमा स्वाँगेभाई अर्थात् सजाति वा उप थर छुट्टयाउनु पर्ने यो समुदायको अर्को संदेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । “रु” (हाडगोत्र वा हाड साइनो) “थर” र उप थरहरु छुट्टाएर कुटुम्ब चलाउने गरिन्छ । शेर्पा जातिमा मामाको छोरालाई पनि मामा साथै मामाको नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई छ्यामा (सानी आमा) अर्थात् आमा समान मान्ने प्रचलन छ । त्यसैले आमा पट्टि पनि “श्या” (दुधगोत्र वा मासु साइनो) पर्ने भएकोले ७ पुस्त सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता यथावत् छ । उदाहरणार्थ, हाम्रो हातको कुम देखि पाखुरा, नाडी र औलाको टुप्पोसम्म सात ठाउँमा भएको हाड जोडने गाँठहरु, यसैको प्रतिक संकेत हुन् ।
सम्दी लाउदा स्वाँगेभाई अर्थात् मैती चेली पर्न गएमा दम्पती जीवन सफल नहुने, र भए पनि कालान्तरमा फलिफाप नहुने र सन्तान पिरोल्छ भन्ने मान्यता छ । सथै सामाजले पनि चेतनशील मनुष्य भएर पनि पशुको जस्तो व्यवहार गर्ने भनि घृण गर्ने गर्दछन् ।
गाउँबाट शहर र शहरबाट बिदेश बसाइँ सरेर जाने क्रममा विषेश गरी भाषामा सामान्य समस्य हुने गरे तापनि मूलभुत रुपमा स्वाँगेभाई “रु” र ७ पुस्ते “श्या” गोत्र केलाएर टि क्ष्याङ, लोङक्ष्याङ, पेक्ष्याङ, देम्क्ष्याङ लगायतका परम्परागत विधिलाई विधिवतरुपमा पूरा गर्नै पर्ने मान्यताहरुलाई शेर्पाहरुले यथावत् मान्दै आएकोछ ।
विधिवत् रुपमा मागी विवाह सम्पन्न गर्नु पर्दा पुराउनु पर्ने परम्परागत विधिहरु यस प्रकार छन् :
१. ञ्येन ग्यग्गु (सम्दी लगाउने)
रु (गोत्र) लोर्त (जन्म मिति र उमेर), मेरव (वंश), लाजा, सोग्जा, शिजा (अनुकूल वा प्रतिकूल दिन), खाम् (नक्षत्र) आदिको अध्ययन गरी कुटुम्ब लगाउन मिल्ने स्त्री वा पुरुषसँग वैवहिक सम्बन्ध जोड्ने परम्परालाई ञ्ये तथा ञ्येन ग्यग्गु भनिन्छ । ञ्येन ग्यग्गु कार्यको शुरुवाती सँगै दुई वा दुई जना भन्दा माथि पार मि वा पारमीन (कालिया वा लमी) नियुक्त गरिन्छन् र विवाह कार्य सम्पन्न नभए सम्म पार मिले कार्य सम्पदान गरी दिनु पर्ने हुन्छ ।
२. टि क्ष्याङ (सोधनी)
सोधनी गर्दा दिने सगुन । यो शुभ कार्यको लागि फलनो नाम र थरकोे केटालाई फलनो नाम र थरकी केटी दिनुहुन्छ कि भनी केटाको तर्फबाट केटी पक्षलाई पेय पर्दाथ (क्ष्याङ् वा रक्सी) सगुनको साथमा खातक दिएर सोधनी गर्ने थितिलाई टि क्ष्याङ् भनिन्छ । यो टि क्ष्याङ् (सोधनी) गर्ने शुभ थिति उपयुक्त र उचित ठाउँ मिलेमा जहाँ गरे पनि हुन्छ भन्ने मान्यता छ । केटीको घरमा नै जानुपर्छ भन्ने छैन ।
३. ल्वोङ्क्ष्याङ् वुलु (मान्ने सगुन)
ल्वोङ्क्ष्याङ् अर्थ “माग्ने सगुन” बुझिन्छ । टिक्ष्याङ् (सोधनी) गरेपछि केटि पक्षबाट केटी दिने संकेत पाएमा केटाको तर्फबाट शुभ साइतको मुर्त जुराएर त्यो तिथिमा छोरी माग्न आउँछौ भनी केटीको माइतमा खबर पठाईन्छ । लगतै फेमार (उवाको वा गहुको सातु, घ्यू, माहुरिको मह र दही मिसाएर बनाएको एक किसिमको परम्परागत शेर्पाको परिकार), रक्सी र खाता बोकेर केटी माग्न जाने चलन छ ।
४. सोलु डो (सर–सल्लाह)
सोलु डोको अर्थ सर–सल्लाह गर्न वा कुरा मिलाउनु जानु हो । ल्वोङ्क्ष्याङ् बुझाए सके पश्चात् अरु विधिहरु कुन कुन दिन, तिथि मितिमा बुझाउन ल्याउँने र जन्ति कति जना आउँने आदि इत्यादि सर–सल्लाह गर्न केटाको तर्फबाट बीच बीचमा केटीको माईतमा सल्लाह गर्न जाने रिमठिमलाई सोलु डो भनिन्छ । यो समयमा पेय पदार्थहरु (रक्सी) कोसेली बोकेर जाने प्रचलन छ । यो कार्य विवाह सम्पन्न नभएसम्म पटक पटक जानु पर्ने पनि हुन्छ । तर दुवै परिवारको आपसी सहमतीमा छोट्टाएर पनि गर्न सकिन्छ ।
५. देम क्ष्याङ् ग्याग् डो
देम क्ष्याङ् भनेको मिलनको सगुन (engagement) भन्ने बुझिन्छ । केटाको माता पिता र नातेदार हरुलाई फेमार, रक्सी, खाता र अन्य कोसेली लगेर केटीको बाबु–आमा र आफन्तहरुसँग भेटघाट गरी केटी दिएको पक्का गर्ने थितिलाई देम क्ष्याङ् ग्याग डो÷देम क्ष्याङ् क्येल डो भनिन्छ । देमक्ष्याङ् बुझाई सकेपछि कुनैपनि कारणवश केटी अरुसँग गएमा वा कुरा पन्छाउने गरेमा समाजको थिति अनुसार रीत लाग्ने नियम छ । यसै अवसरमा पुरानो साइनोलाई नयाँ सम्बन्ध (सम्दी सम्दिनी)को रुपमा साइनो फेर्ने विधि पनि पुरा गरिन्छ । उपयुक्ता नठानेमा यो साइनो फेर्ने विधि पाछी छोरा छोरीको टीका टालो गर्ने दिनमा नै गर्ने भनि थाँती राखिन्छ र पछि नै गरिन्छ ।
६. पेक्ष्याङ् (विवाहको मिति तय गर्ने)
विवाहको मिति तय गर्ने भुजिन्छ । साइत जुराएर विवाहको मिति तोक्ने रीतिलाई पेक्ष्याङ् भनिन्छ । दुबैपक्षको सहमतीमा विवाहको लगन तोकिसकेपछि विवाहको तयारी शुरु गरिन्छ । यो समयमा पनि रक्सी र खाता कोसेली लानु पर्छ ।
७. क्ष्यायि क्योल डो
क्ष्याङ् (जाँड) को अन्न (कोदो) पुर्याउन जानु हो । मुख्य विवाहको मिति आउनु भन्दा केही महिना अगाडि नै छोराको तर्फबाट पछि आउँने जन्तीको लागि जाँड बनाई राख्न अन्न पुर्याउन जाने थिति छ । यसलाई क्ष्यायि क्योल् डो भनिन्छ । यस पटक पनि कोदो बोक्न भरिया सहित १०/१५ जनाको संख्यमा सानो सानो जन्ती नै जाने गरिन्छ । पहिला पहिला जाँड तयार पारे जन्ती जान केही दिन अगाडि मात्र बेहुली घरमा पुर्याउन जाने चलन थियो । तर आजबोली त्यस्ता चलन हराई सक्यो बरु आपसी सहमतिमा अन्नको सट्टा नगद नै बुजाउने पनि चलन बढ्दै गएको पाइन्छ ।
७. देन् क्ष्याङ् तोङगु
देन् क्ष्याङ् भन्नले निमन्त्रणाको सगुन पठाउने बुझिन्छ । विवाहको मिति निश्चित भैसकेपछि बेहुलाको घरमा सरीक भई बेहुली लिन ज्येन्दी (जन्ती) भई जानका लागि नातेदार, छिमेकी र हितैषीहरुलाई चाँदीको फुरो भरी भरी क्ष्याङ् वा रक्सी दिएर निमन्त्रणा दिने परम्परा छ । उता बेहुली पक्षबाट पनि त्यस्तै विधिले निमन्त्रणा गर्ने चलन छ । तर अब आएर फुरुमा राक्सी दिएर निम्तो गर्नुको सट्ट निमणत्रणा-पत्र दिने प्रचलन बढ्दै गएको पाइन्छ ।
यस थितिमा विधिअनुसार सम्बन्धित काममा दक्ष कामदारीहरुलाई विशेष महत्वका साथ काम सफल पारी दिनु हुन अनुरोध सहित केटाको तर्फबाट सगुन गरिन्छ । कामदारीहरु जन्ती जानु पहिलो दिन केटाको व्याह घरमा जम्म भई विवाहमा आफु आफुलाई चहिने औजारहरु रुजु गर्ने र निरक्षण गर्ने काम गरिन्छ ।
८. फुक्ष्याङ्/स्रेकिम ताेङगु
फेक्ष्याङ् भन्नुको अर्थ जाँडको अग्रभाग कुल देवतालाई चढाउनु हो भनि बुझिन्छ । विवाहको लागि तयार पारेको जाँड छानेर जन्तीलाई खाना दिन पूर्व लक्षित काम विघ्न–बाधा रहित सफल होस् भनी क्ष्याङ् फू (जाँडको अग्रभाग) राखेर घरको कुल देवता र स्थानीय देव–देवी, सिमेभुमेलाई पूज्ने प्रथालाई फुक्ष्याङ् कितु अथवा स्रेकिम ताेङगु पनि भनिन्छ । विवाह कार्यमा मात्र नभई अरु जुनै पनि शुभ–कार्यको लागि तयार पारेको जाँडलाई, त्यो कामको सफलताको कामना गारी शेर्पाहरुको गाउँमा यस किसिमका पूज गर्ने परम्परा छ । यस्तो पठ पूजाको बौद्ध लामाहरुद्धारा गराईन्छ ।
विवाह कार्यमा आवश्यक पर्ने कामदारीहरुः
१ जना खोल्वा (लामा गुरु) घर कुल देवता र स्थानीय देव—देवीको बौद्ध लामा परम्परानुसार विधिवतरुपमा पुज्ने र ग्याङ्गु, तान्त्रिक मन्त्रोच्चारणद्धारा शुद्ध नौनी घ्यूले नव दुलाह दुलाहीलाई शिरमा टिका लगाई आशिर्वाद दिई विवाह बन्धन सम्पन्न गराउने खोल्वा लामाबाट हुन्छ ।
१ जना कारबारी (मुख्य कार्यकारिणी) व्यक्ति, जो सम्पूर्ण मौलिक विधि थितिको जानकार हुनुको साथै अन्य कामदारहरु नयाँ परेको खण्डमा विधिहरु सिकाउने र जन्तीलाई लिटी (अबिर टीका) लगाई लाईनबद्ध रुपमा ज्यान्दी हिडाउने काम गर्दछ । विवाह सम्पन्न भैसके पछि पनि सम्पूर्ण विधि अनुष्ठानको औजारहरुलाई ठिक ठेगनामा पुराउने र सम्बन्धित पक्षलाई जिम्म लगाउने कामको जिम्म कारबारीको हुने गर्दछ ।
२ जना पारीम वा क्याल्मी (बेहुला र बेहुलीको सहयोगी र सांस्कृतिक औजारहरु बोकि दिने) । माक्पी पारीम (एकजना पुरुष बेहुलाको सहयोगी) दुलहाको तर्फबाट र नामी पारीम भनेर (एक जना महिला दुलहीको) तर्फबाट सहयोगी भएर दुलहा दुलही सँग सँगै बसेर छाता समाई दिने र दुलहा दुलहीलाई अवश्यतानुसार सहयोग गरि दिने सहयोगीलाई पारीम वा क्याल्मी भनिन्छ ।
१ जना ज्येन्दी उन्ज्येन (कलकार), विधिथितिअनुसार रित पुराएर लयबद्ध तरिकाले परम्परागत गीतहरु सम्बन्धित विधिस्थालहरुमा गाउन जान्ने र बुक्छ्याल (ज्याम्ट) ताल मिलाई बजाएर सिलु नृत्य नचाउँन सक्ने विषेश ज्ञान भएको व्यक्तिलाई ज्येन्दी उन्ज्येन भनेर खटाउँने गरिन्छ ।
२ जना सिलवा (कलकार) दाँय हातमा तारबार र बायाँ हातमा चौरीको पुच्छर हल्लाउदै बुक्छ्यालको तालमा ताल मिलाएर नृत्य गर्ने नाचलाई सिली नाच र यस्ता नृत्य गर्न जान्ने व्यक्तिलाई सिलवा भनिन्छ ।
२ जना ग्येलिङ्वा (कलकार) ग्येलिङ (सनाहि) परम्परागत मौलिक लयमा ग्येलिङ बजाउन जन्ने व्यक्तिलाई ग्येलिङवा भनिन्छ ।
यो माथिको सबै कामदारीहरु जन्ती सँगै बेहुली घर जानु पर्छ र गीत गएर रमाईलो गर्दै रमझमका साथ बेहुली लिएर आउनु पर्छ ।
साथै अरु २/४ जना क्ष्याङ्मा (जाँड तयार पर्ने) प्रायः पुरुषहरु, २/४ जना सार्म (भन्से) प्रयः महिलाहरु र अन्य सहयोगीहरु लाई भोज तयार पार्न काम अआफ्नो समुहलाई जिम्म दिएको हुन्छ र उहाँहरुको दुलाहको घरमा ज्येन्दीको लागि भोजन र पेय पदार्थहरु बेलुका ज्यान्दी आई पुग्दा तामझामका ताम तयार पारेर राखिन्छ । तर शहरमा यो थिति पार्टी प्येलेसले गर्दा विस्थापित भइ सकेको पाइन्छ ।
८. कङ्सो तोङ्कु/खोलु फुकु
यसको अर्थ कुलदेवता तथा इष्ट देवदेवीहरु बुझाई घरको ग्रह दशा शन्त पर्ने पूजा बुझिन्छ । यस अघि फुक्ष्याङ् गर्ने काम सम्पन्न भए तापनि शुभ–विवाह कार्य विघ्न बाधा रहित सफल होस् भन्ने उद्देश्यले जन्ती जाने अघिल्लो बेलुका घरको कुलदेवता र अन्य इष्ट देवदेवीहरु बुझाउने काम विस्तृत रुपमा गरिन्छ । यो धार्मिक कार्य दुवै तर्फले गर्छन् । शुरुमा छ्योपा (पूजा मण्डल) तयार पारिन्छ । त्यही दिन सबै छरछिमेकीहरु र कामदारीहरु जम्म भई विवाहको पूर्व तयारी गर्ने काम गरिन्छ । यसलाई छिमेकीहरुबाट व्याह घरमा आवश्यक पर्ने मालसामानहरु सबै ठीक छ कि छैन अवलोकन गरी हेरविचार गर्ने थिति पनि हो भनिन्छ । टाडा टाडाबाट आउने पहुनाहरु पनि त्यही दिन जम्मा हुन्छन् र बेहुलाको चेलीबेटीहरु खोली फुक्छ्याङ (पेय पदार्थहरु) लिएर आउने चालन पनि छ ।
दुलहको घरमा, बेलुका कामदारीहरुलाई चाहिने विधि अनुष्ठानको मौलिक औजारहरु अआफुलाई जिम्म दिईन्छ र खासगरि सिपाखोलु (भावचक्र) थाङ्गालाई विशेषरुपले सजाएर विस्तृत रुपमा त्यसको पुजा गरिन्छ । दुवै परिवारतर्फ त्यो साँझ जम्मा भएका गाउँले र सबै पहुनहरु रमाईलो गरेर बस्ने चलन छ ।
९. ज्येन्दी
बेहान, पूर्व उज्यालो सँगै दुलहा पहिरिने काम शुरु हुन्छ । दुलहालाई परम्परागत मंगोलियन पोशाक पेहेलो खोचेन (बखू)को साथमा जालीदार (cow boy)को जस्तो (मौलिक टोपी) पहिराई पछडिबाट दायाँपट्टि फर्काएर काँदमा पाँच रँङ्गे कपडाको दत्तर (एक प्रकरको ध्वजा) सिउरिदिएर तयार पारिन्छ र साङ् स्रेकिम पूजा गरिन्छ । जन्तीमा सरिक सबैलाई चियाँ नास्त गाराई जन्ती प्रस्थानको लागि तयार भईन्छ । आब दुलहाको हातमा पुम्बा (कलश) बोकाई पारीमले छाता ओडाएर प्रस्थान गर्नु पर्दछ । घरबाट जन्ती निस्कन्दा आँगनमा दुध् वा दही, क्ष्याङ् र खप्स (परम्परागत रोटी) शुभ सगुनको रुपमा धुप बत्ती सहित सजाएर राखेको हुन्छ । यसलाई सुज्र्याङ् वा सोज्याङ् भनिन्छ । यसलाई लामाले फुक्ष्याङ् गरेर ज्येन्दीले बाँडेर खाने चलन छ । यस्त सगुनहरु प्रायः दुलहाको विवाहित दिदीबहिनीहरुले राख्ने चलन पनि छ । यसरी विवाहित चेलीले सगुन थाप्द सुज्र्याङ् हो भनेर सुनाएमा दुलहाले चेलीहरुलाई कोसेली स्वारुप केही रकम दिनु पर्ने हुन्छ भने सोज्याङ् मात्र हो भनेको खण्डमा कोसेली दिनु नपर्ने प्रचलन पनि छ । जन्ती प्रस्थान गर्दा जन्तीमा सरिक सबैलाई चिन्न सजिलो होस् भनेर निधारको बिचमा कारबारीले लिटी (टीका) लाई दिन्छ साथै दुलाह पक्षबाट खाता लगाई दिने चलन छ । त्यसपछि लामा गुरु र चिपखोलु अगाडि लगाएर क्रमशः लामा गरु, बेहुलाको बुबा, आमा अनि बेहुला हिँडाएपछि ग्येलिङ्बाहरुले ग्येलिङ् बजाउदै सबैजान लामबद्ध भई जन्ती प्रस्थान गर्दछ ।
उता दुलहीको माइतमा पनि जन्ती आई पुग्ने दिन बिहानै धर्मगुरु लामा बोलाइ पूजा मण्डपमा साङ् स्रेकिम गरिन्छ । दुलहीका नातेदार र गाउँ समाज अगिलो दिन देखि नै भेला भई जन्तीको स्वागतको तामझाम गरेर बसेको हुन्छ । जन्ती आईपुग्ने समयमा दुध् वा दही, क्ष्याङ् र खप्सको साथमा धुपबत्ती गरी सगुन थापी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीलाई छ्याङङ्गा (छुट्टै बस्ने स्थान तयार पारेको हुन्छ), त्यहा राखिन्छ । खोलवा र दुलहालाई विशेष बस्ने स्थान तयार पारेको हुन्छ । जन्ती बसीसकेपछि दुलहीको तर्फबाट पेय पदार्थहरु खुवाउछन् ।
१०. ङवोसी तोङ्गु
छ्याङङ्गा भित्र जन्ती बसिसकेपछि पहिला ङवोसी तोङ्गु (साइनो फेर्ने र परिचयात्मक) कार्यक्रम हुन्छ । दुलहीको आमा, बुबा, दाई भाउजु र अन्य नातेदारहरु आई दुलहाको आमा, बुबा र अन्य नजिकको नातेदारहरुसँग विधिवतरुपमा साइनो फेर्ने र परिचय गर्ने काम हुन्छ । यो कार्य पहिला देम क्ष्याङ् गर्दाको समयमा नभएको भए विधिवतरुपमा गरिन्छ । पहिल्यै ङवोसी तोङ्गु काम गारी सकेको भए औपचारिक्ता मत्रै पुरा गरिन्छ । विधिवतरुपमा गर्दा, ङवोसी गर्ने सम्बन्धित प्रत्येक व्यक्तिको अगाडि च्वाक्ची (चियाँ टेबुल) माथि चेनी (फुरो) या घाङ् (काँसाको ढाबका)मा भरी भरी क्ष्याङ् भरेर काग्र्येण (नौनी घ्यू)को टीका लगाई क्रमशः मर्यादा क्रम अनुसार धर्मगुरु लामालाई, त्यासपछि दुलहा दुलही र अरु सबैलाई यिठो वा श्योक्र्ये गरिन्छ र एक अर्कालाई पिलाएर साइनो फेर्ने काम सकाइन्छ ।
११. सील्क्ष्याङ
ङवोसी तोङ्गु काम सकेपछि दुलहाको पोशाक फेर्ने काम हुन्छ । यासलाई सील्क्ष्याङ् भनिन्छ । प्रयः यो बास बस्ने विवाहमा गरिन्छ । तर यो बास नबसी दिनमा सकाउँने विवाहमा लागु नहुनु पनि सक्छ । त्यासपछि दुलहीको माइतीहरुलाई दुलहाले कोसेली बोकेर मुल घरभित्र भेट्न जाने काम हुन्छ । यसलाई माक्पा क्षादेन् डो भनिन्छ । यसपालि पनि फेमार, रक्सी र खाता कोसेली लागेर राख्ने चलन छ । साथसाथै आब नामा क्षाऊ (दुलही पहिर्ने) काम हुन्छ । दुहुली पहिरिएर ल्येएपछि । बेहुला र बेहुलीलाई पुजा मण्डपको अगाडि स्वास्तिक चिन्हले सजाएको आसनमा बासाइन्छ । दुलहीलाई दुलहाको बायाँ पट्टी बसाइन्छ । दुलही बसिसकेपछि दुलहाले ल्याएको पुम्बा दुलहीको हातमा राखी दिनु गर्छ ।
मोला तोङ्गु
यसपछि दुलहा र दुलही एक अर्कामा सुम्पेको घोषणा गर्ने कार्य हुन्छ । यो प्रकृयालाई मोला तोङ्गु भनिन्छ । मोला तोङ्गुको अर्थ, विवाह हुन गई रहेको नव दुलहा र दलही एक अर्कमा चेली माइती पर्दैन भनि दुबै तर्फको जिज्यु (पूर्वज)को नाम लिएर सात सात पुस्ते नाम र थर समेत स्पष्ट खुलाई पवित्र विवाहसुत्रमा बाँधिएको घोषणा गर्नु हो । यसपछि लामागुरुबाट तन्त्रिक मन्त्रोच्चारण गर्दै दुलहा र दुलही दुवै जनालाई शीरमा नौनी घ्यूको टीका लगाई ग्येङ्गु गारी आशिर्वाद दिन्छ । लामाले आशिर्वाद दिने कामसके लगतै दुलहाले दुलहीलाई र दुलहीले दुलहालाई एक अर्कको निधारमा अबिर टिका लगाई दिन्छ ।
त्यस पछि ज्येन्दी मुल घर भित्र लागिन्छ । यसपछि जन्तीको लागि भतेर खुवाउछ । भतेर सकेपछि मुल घरभित्र धर्म गुरु लामाले शान्ति पुजा गरिन्छ र खोर्लु बहिर निकल्ने र अरु काम गर्ने कामहरु हुन्छ ।
१२. दुक्ष्याङ्/डेन कितु/डेन तोङ्गु
बेहुली पक्षको गाउँ समाज तर्फबाट ज्यन्दीलाई ख्वाउने पेय पदार्थ लाई दुक्ष्याङ् भनिन्छ । त्यस्तै छिमेकीहरुद्वारा विवाहमा आएका जन्तीहरु निमन्त्रणा गरी सामूहिक वा व्यक्तिगतरुपमा खान र जलपान गराउने चलनलाई डेन कितु/डेन तोङ्गु भनिन्छ ।
१३. खोर्लो देन्तु
जन्ती फर्किने संकेत सँगै लामाले शान्ति पूजा गरिन्छ र बेहुली लाने शुभ साइत गरिन्छ । साइत गरेको दिशामा भावचक्र थङ्का (खोर्लु) टाँकेर राख्ने परम्परालाई खोर्लु देन्तु भनिन्छ । बेहुली लिएर जाँदाको समय नराम्रो साइत पनि पर्न सक्ने भएको हुँदा भरसक नराम्रो साइत नपरोस् भनि त्यसरी खोर्लुलाई साइत गरी राखिएको हो ।
१४. हामाक्ष्याङ् कितु/यु ल्वोङगु/सोरु ल्वोङगु
विवाहमा रकम (सरह/सरु) माग्ने चलन हो । बेहुला र बेहुलीको घरमा बेलुकीको विवाह भोज सकेपछि पहिले आफूले अरुलाई सरह दिएको सो रकम उठाउने र नभएकाहरुलाई पनि आफ्ना इच्छा अनुसार सरह मागने गरिन्छ । “टुँ याँ ला” गीतको लयमा सामूहिक गीत गाउँदै रमाइलो गर्दै सरह माग्ने चलन छ । सरहको प्रति सरह गरी माग्ने यस परमपरालाई फरक फरक गाउँ ठाउँमा फरक फरक शब्द प्रयोग गरेको पाईन्छ, जस्तैः हामाक्ष्याङ कितु/सोरु ल्वोङगु/यु ल्वोङगु/यु बोग्गु आदि शब्दहरु ।
१५. कर्त कितु
विवाहको शुभ अवसरमा शुभकामना स्वरुप शुभेच्छुक र आफन्तहरुबाट बेहुली र बेहुलालाई उपहार दिने चलन छ । यसलाई कर्त कितु भनिन्छ ।
१५. ञाङ् गुकु/फिथेन ज्योग्गु
बेहुलीको घरबाट जन्ती जान लाग्दा बेहुला पक्षको एकजना मुख्य मानिसलाई घरभित्र लगेर एकछिन राखी मिठो क्ष्याङ् खुवाएर पठाउने चलन छ । मुल घरको सह नजाओस् भन्ने हेतुले गरिने यस्ता चलनलाई ञाङ् गोकु या फिथेन ज्याग्गु (अग्रभाग) झिकेर राख्ने भनिन्छ । यहाँ कामदारीहरुले मौलिक गीत गएर ञाङ् टाशि सोल गर्ने गरिन्छ ।
नामा थेन्दु लु
भतेर टुङगे लागदै ज्येन्दी उजेनले मुल घरको ढोकामा नामा थेनदु लु (बेहुली पठाई माग्ने अनुरोध) गीत गाउन शुरु गरिन्छ भने दुलहाको तर्फबाट लि आमा (महिला गायीका)हरु छानेर फुरुमा जाँड (सगुन) दिएर नामा (बुहारी) निकालि दिनु अनुरोध गीत गाइ देउ भनेर घर भित्र लगिन्छ र जम्म भई हाम्रो दुलही पठाई दिनु भनि दुलहीको माइत पक्षलाई स सम्मान अनुरोध गर्दै ध्यानमग्न लयमा परम्परागत गीत गाउँछन् । गीत गउदै गर्दा दुलहाले दुलहीको माइतीका मान्यजनहरुलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरुलाई याङ्जी अर्पण गर्दै ढोगेर आशिर्वाद लिइन्छ । महिला समुहले मन्त्रमुग्ध लयमा गीत गाउदै दुलही बहिर ल्याइन्छ र श्याप्रु नाचेर रमाइलो गरिन्छ । यसपछि बुक्छाल बजाएर सिली नाच्दै युवाहरु रमाइलो गर्छन् । त्यसपछि गीत गउँदै बुक्छालको तालमा सिली नच्दै दुलही लिएर जन्ती फर्किन्छ ।
१६. आमी क्येका
बेहुली लिएर जाँदा छ्याङङ्गा बाहिरपट्टि बाटोमा आमाले सजाएको पोङ्मा क्ष्याङ् राखेर छोरी (बेहुली)लाई बिदाई गरी पठाउँने चलन छ । यसलाई आमी क्येका (आमा)को कोसेली पनि भनिन्छ । कतै कतै यसलाई माग्पी क्येका (ज्वाईको कोसेली) पनि भन्ने गरिन्छ । यहाँ जन्तीमा सरिक सबै जनालाई खाता लगाई बिदाई गरिन्छ ।
नामा नाङला थेन्दु लु
दुलही लिएर जन्ती दुलहाको घरमा पुग्दा घरको आँगनमा सोक्ष्याङ् सजाएर राखेको हुन्छ । लामागुरुले फुक्ष्याङ् गरि बाँडेर खाईन्छ । त्यसपछि खोलवा लाई घरभित्र पठाईन्छ । दुलहा, दुलही र आरु सबै मुल ढोकामा बहिरबाट दुलही लिएर आएका छौं, हामीलाई क्ष्याङ् र फेमार छकिछैन भनेर गीतद्धारा नै माग्ने चलन छ र भित्रबाट पनि गीतकै लयमा तपाईहरुले दुःख पाउनु भयो रीतिस्थितिमा छ भनि भित्रबाट दिने चलन छ । खाने कुरा सबैले बाँडेर खान्छ र फेरी गीत गएर बेहुली लिएर भित्र लाने चलन छ । यो गीत भित्र र बहिरबाट दोहोरो चल्ने गर्छन् । बेहुला बेहुलीलाई भित्र लागेर सील्क्ष्याङ् गरी सके पछि सँगै रखेर एउटै थालमा खाना खुवाउने परम्परा पनि छ । त्यसपछि जन्तीमा सरिक सबैलाइ भतेर शुरु हुन्छ ।
तार ग्येलु र ङुडुप वुलु
भतेर साकेपछि दुलहा दुलहीलाई लामा गुरुबाट ग्यागु गर्ने गरिन्छ र उन्जेन बहिर परम्परागत गीत (ञँन्डो श्युहिन्ञाँ/न्डो शिम्बा)मा श्याप्रु गाउँने शुरु गरिन्छ । मुल घरभित्र ङुडुप वुल काम धर्म गुरुहरुबाट चालु रहन्छ । बहिर पहिलो चरणको गीत सकि सकेपछि भित्रबाट लुक्ष्याङ्, एक घ्येम्पाभरि जाँडको साथमा तार (सेतो कपडा, ५– हात जतिको लामो) लिएर आउछ । तारलाई क्ष्याङ्गको दुरीमा/निदालमा ९ गाँठा पारेर झुण्डाइन्छ । त्यसपछि पनि प्रत्येक चरणको गीतको समप्ती पछि एक एक घ्येम्पा जाँड दिने चलनछ । एक रातमा ३ देखि ७ घ्येम्पमा सम्म जाँड खाएर रातभरि श्याप्रु नाचेर रामइलो गर्ने प्रचलन छ । बेहुलाको घरमा बिषेश गरि यस्तै मनरञ्जनको लागि भनेर छुट्टे जाँडको ब्यवस्था गरिएको हुन्छ ।
१७. टशि सोल्लु
बेहुलाको घरमा विवाहको कार्यक्रम सम्पन्न हुन लाग्दा बेहुला बेहुली र घर परिवारलाई आशीर्वाद दिने कार्यक्रम टाशि सोलु काम हुन्छ । हिजो बेलुका झुन्डाएको तारलाई विधिवत गीत गएर ९ गाँठोको अर्थ लगाउँदै फुकाईन्छ र बहिरबाट भित्र लगिन्छ । त्यसपछि औजारहरुको अर्थ लगाउँदै कारबारी र घर मुलिलाई जिम्म लगाउछ र दुलहा दुलही र दुलहाको माता पिता एकै ठाउँमा राखेर आशीष दिई विवाह सम्पन्नको प्रतिक टशि सोलु गरिन्छ ।
१८. ढुप्छ्याङ्/ज्येन्दी ढुप्छ्याङ्
सामान्य रुपमा ज्येन्दी ढुप्छ्याङ् भनेको सम्पन्न भन्ने बुझिन्छ । बेहुलाको घरमा बेहुली ल्याई पुराएको भोलिपल्ट बेहुलाको गाउँ समाजको तर्फबाट जन्तीमा सरिक महानुभावहरुलाई ख्वाउनलाई खाना र जाँडलाई ढुप्छ्याङ् भनिन्छ । साथसथै बेहुलाको तर्फबाट मिठो छयाङ्को व्यवस्था गरी बिदाई स्वरुप जन्तीमा सहयोग पुराउने सम्पूर्ण कामदारीहरुलाई खुवाउने चलनलाई ज्येन्दी ढुप्क्ष्याङ् भन्ने चलन छ । सहयोग पुराई छोराको विवाह सम्पन्न गराई दिएकोमा (पारमीन बहेक) कामदारीहरुलाई खाना र क्ष्याङ् खाना दिएर खाता लगाई दिँदै बेहुलाको आमा बुबाबाट विषेश धन्यवाद दिई विदाई गर्ने गरिन्छ ।
१९. कर्म लोग्डो
ज्योतिषशास्त्रको आधारमा दुरान जाने लगन उपायूक्त समयमा जुट्न गाह्राे पर्ने भएकाले तिथि, मिति र नक्षत्र नराम्रो परेमा त्यसको दोष नलागोस् भनी तुरुन्त दुरान फिर्न जाने काम गरिन्छ । यस किसिमको प्रथालाई कर्म लोग्डो भनिन्छ । यो कार्यमा दुलहाको आमा बुबालाई दुलहीको माइत पक्षले विषेश निमन्त्रणा गरेको भए दुलहा र दुलहीको साथ पारमीन र दुलहाको माता पिता पनि सरिक हुनु पर्ने हुन्छ । दुलहाको माता पितालाई निमन्त्रणा नभए दुलहा दुलहीको साथमा पारमीन मात्र जाने चलन छ । त्यसपछि दुलहा र दुलहीलाई दुलहीको माइतमै छाडेर आरु फर्किने चलन छ । दुलहाको माता पिताले पारमीनलाई घरमा लगी खाना र जाँड खाना दिई खाता लागाएर स-धन्याबदका साथ विदाई गरिन्छ । उता दुलहा र दुलही दुलहीको माइत पक्षको तजबिजले ढिलोमा एक हफ्तभित्र फिर्ता पठाई दिन्छ र परम्परागत विवाह औपचारिकरुपमा सम्पन्न भएको मानिन्छ ।
अन्य चलन
चिनी खल ग्याँ कुतु / छोटो विवाह
केटा र केटी दुवै परिवारको आपसी सहमतिमा केटा पक्षबाट विवाहको लागि केटी पक्षलाई दिनुपर्ने रीत अंशिक बुझाएर छोटो विवाह गर्ने परम्परालाई चिनी खल ग्याँ कितु भनिन्छ । यो कार्य प्रयः पेक्ष्याङ्को मुखमा सम्पन्न गर्ने गरेको पाईन्छ । यस्ता छोटो विवाहकार्यमा दुई चार/जान आफ्नो नजिकको बिशेष नातेदारहरुलाई मात्रै राखेर एक/दुई जान लामा बोलाइ ग्येङगु गर्ने चलन छ । केटी पक्षबाट माग भए रीत स्वारुप केटा पक्षले केहि नगत नै बुझएर अन्य विवाहको रीत विधिको कार्य त्यहि दिनमा सकाउने गरिन्छ ।
लोरु तोङ्गु/चि तोङगु
सीधा अर्थ लगाउदा हिसाब दिएर पठाउनु भन्ने बुज्न आउछ । विवाह सम्पन्न भएको १/२ बर्ष अथवा एउटा दुईटासम्म सन्तान भई सकेपछि माइती पक्षबाट छोरीले धन सम्पतिको रुपमा (दाइजाे) दिएर पठाउने प्रथा छ । यसलाई लाग तोङ्गु (हात छोड्नु) र चि तोङगु (हिसाब दिनु) पनि भन्ने गर्छन् । दाइजो नदिएसम्म अथवा लाग तोङगु नगरेसम्म छोरीको हात माइतीले नै समाइ राखेको वा छोरी माइती पक्षकै हुने परम्परा रहँदै आएकोमा समय सापेक्ष यो प्रथा मान्नै पर्ने मान्यता भने हठ्दै गएकोछ ।
ञे तोङ्गु
नाता छोड्नु, विवाहित स्त्रीको पति मृत्यु भएको वा पतिबाट टाढा भइ बस्नु परेको र आफू अरुसँग विवाह गर्न चाहेमा विवाह गर्नुभन्दा पहिले केटीको पक्षबाट केटा पक्षलाई एक पोङ क्षाङ र १ रुपियाँ पैसा राखेर नाता छोड्न लागेको अनुमति लिने अथवा सिद्धि विधि माग्ने थितिलाई ञे तोङ्गु भनिन्छ ।
मोला परम्परा
शेर्पा समाजमा मोला परम्पराले निकै ठुलो महत्व राख्दछ । सामाजिक र धार्मिक कार्यहरुमा त्यस कार्यको विबरण र लागत त्यस समारोहमा उपस्थित सबैले थाहा पाउने गरि सुनाउने चलनलाई मोला तोङ्गु भनिन्छ । विवाह, मरन (मृत्यू) र अरु सामाजिक र धार्मिक कार्यहरुमा फरक फरक तरिकाले मोला गर्ने परम्परा छ ।
१. विवाह समारोहमा गरिने मोला
विवाह समारोहमा गरिने मोलाको अर्थ पवित्र विवाहशुत्रमा बाँदिन गइ रहेको जोडि एक आपसमा चेली माइती, स्वाँगेभाई वा हाडनाता पर्दैन भनि एक अर्कालाई सुम्पेको घोषण गर्नु हो । नव दुलहा र दुलही विवाह मण्डपमा बसाएपछि ग्येङ्गु गर्नु भन्दा पहिले दुलहीको माइतीहरुलाई एकैठाउमा बसाई तार (३ हात, ३ भित्त, ३ ईन्च लामो सेतो कपडा) काँदमा लगाइदिएर दुलहीको तर्फबाट एकजना मोला वाचन गर्न कुसल व्यक्ति उठेर मोला भन्नु परेको काराणहरु कवितात्मक र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने गर्छन् ।
दुलहीको सात पुस्ता विबरणको बखान गरी यिनीहरु साख कुटुम्ब पर्छ आजको मिति देखि शिरको कपाल देखि खुट्टाको नङ सम्म सुम्पेका छौं भनेर सुनाईन्छन् । त्यस्तै गरि दुलहाको तर्फबाट पनि एक जना मोला भन्न जन्नेले उठेर दुलहाको आफ्नो जिजु,च्याप्जु (वंशको अग्रज)को नाम लिएर सात पुस्ता बखान गरी हाम्रो छोरा पनि आजको मितिबाट दुलहीलाई सुम्पेका छौं भनेर सुनाउँछन् । यसरी मोला सुनाउँदा दुलही तर्फको मोला सक्दा जन्तीहरुले र दुलहा तर्फको मोला सक्दा दुलहीको माइतीहरुले खुए खुए (पायौं) भन्ने चलन छ ।
२. लोरु पठाउँदाको मोला
शेर्पा समुदायमा छोरीहरुलाई प्रायः विवाह पछीमात्र दाईजो दिने चलन रहँदै आएको हुँदा दाईजो दिन प्रकृयालाई लोरु तोङ्गु भनिन्छ । यसमा पनि विवाहीत जोडीलाई सँगै राखि दुलहीको माइतीहरुले गर गहना, नगद, जिन्सी माल सामान समेत गरि जम्म यती मुल्याबराबरको सम्पति दिएका छौं भनि सुनईन्छ । यसमा पनि जन्तीहरुले खुए खुए भनेर आभार प्रकट गर्दछन् ।
यिठो वा श्योक्ये परम्परा
गाउँ घरमा काज तथा भोज गर्दा लामा गुरुलाई दान दक्षिणा गर्दा छोरी माग्दा केटीको आमा बाबुलाई र विवाह तथा चाड पर्व मनाउँदा पाहुनाहरुलाई लयबद्ध रुपमा निम्न स्तुति वाचन गर्ने चलन छ ।
१. लामा ला
तेम्पी ल्पाज्योर लामी श्यब्प्य त्यान् ।
त्यन्जिन क्येपु सतेङ् ह्योङला ख्याप ।
त्यन्पी जिन्दाग ङाथाङ (ज्वार्वा) तर्सिङ ग्ये ।
त्यन्पा युन्रिङ न्यपी दुर्ची छ्योद्पा बुल ।
अर्थ:
धर्म शासनका श्री समुदाय लामा गुरु चिरायु रही
शासनधर पुरुषले सम्पूर्ण विश्व भरुन्,
शासन दाताहरु शान्ति र वैभवशाली भई
धर्मशासन अवरणकालसम्म स्थिर रहने शुभकामना
स्वरुप यो अमृत ग्रहण गर्नु होओस् ।
२. पु/माप्पा ला
ग्याकर पेनछेन प्हेला कठिन् क्ष्ये ।
पेमा ज्युङ्न्या कुला द्याटोङ मेद् ।
थादँत ल्होनुब सिन्पोइ खाने ज्यु ।
उर्केन रिब्राेछे ला छ्योपा बुल ।
अर्थ:
भोटका लागि अति कृचज्ञ आर्यदेशका महापण्डित,
जन्म र मरणदेखि पार भएका गुरु पद्मसंभव ।
हाल दक्षिण–पश्चिमका बीच (ताम्रद्वीप) मा राक्षस दबाईरहेका
उड्डियानका गुरुरत्नलाई यो अमृतमय पेय अर्पण गर्दछौं ।
३. पुम/नामा ला
म्रासम ज्योमेद् शेराब फरोल छिन् ।
मक्ये मिगग् नाम्खी ङोबो ङी ।
सो सो राङरिग य्हीशी च्येयुलमा ।
तुसुम ग्याल्मी याेम् ला छ्योपा बुल ।
अर्थ:
अचिंत्य, अवाक प्रज्ञापारमिता
जन्म र मरण सहित आकाशका स्वभाववाली प्रतिस्वसंविद् ज्ञानकादृष्टिगोचरवाली
त्रिकालका बुद्ध मातालाई यो अमृत चढाउँछौं ।
यस्ता स्तुति गरी सगुन खुवाउने परम्परालाई यिठो वा श्योर्के भनिन्छ । लामा गुरु र स्त्री पुरुषहरुलाई आ-आफ्नो मर्यादाक्रमानुसार यो थिति गर्ने चलन छ ।
Comments
Post a Comment