सोलुखुम्बुकी कुङगा ङिमा शेर्पा गायिका मात्र होइन, रचनाकार पनि हुन् । उनले थुप्रै गीत तथा गजल लेखेकी छन् । उनले लेखेका गीत नेपालका चर्चित गायक गायिकाले गाइसकेका छन् । उनी संगीतसमेत आफै गर्छिन् । बहुमुखी प्रतिभाकी धनी कुङगासँंग हिमगाथा साप्ताहिकले गरेको विशेष कुराकानीको सम्पादित अंशः
दिन कसरी बितिरहेको छ ?
अहिले गीति एल्बम निकाल्ने तयारीमा छु । एकै पटक दुई वटा एल्बम आउने भएकाले निकै व्यस्त छु ।
कस्तो खालको एल्बम हो यो ?
एउटा लोक पप र शेर्पा सेलो मिक्स भएको एल्बम ल्याउने तयारीमा छु । अर्को गजल संग्रह ल्याउने तयारीमा छु ।
अहिलेसम्म कति वटा गीत गाउनुभयो ?
आफ्नै स्वरमा दुई वटा गीत गाएकी छु । गायक प्रेम लोप्चनसँग गीत गाएको थिएँ । त्यो गीत निकै चर्चित भयो । मलाई त्यही गीतले गायिकाको परिचय दियो । तर, मैले गीत गाउने भन्दा पनि लेख्ने काम गरें । मैले दुई हजारभन्दा धेरै गीत, गजल, मुक्तक र कविता लेखिसकेकी छु ।
गीत लेखनको प्रेरणा कसरी मिल्यो ?
सानैदेखि गीत, गजल र मुक्तक लेख्थें । पछि हङकङ निवासी साहित्यकार बज्रकुमार राईसँग भेट भयो । उहाँको सहयोगले लेख शैलीलाई अझ तिखार्ने मौका मिल्यो । विशेष गरी उहाँले मलाई साहित्य लेखनमा सहयोग गर्नुभयो । मैले गजल लेख्थें । फेसबुक पोष्ट गर्थें । उहाँले पोष्ट भएका गजलका बारेमा कमेन्ट गर्नुहुन्थ्यो । गजल लेख्न सिकाउनुहुन्थ्यो । उहाँले गाइड नगरेको भए म यस क्षेत्रमा आउने थिएन ।
गीत, गजल धेरै लेख्नुभएछ तर, गायनमा चाहिँ कम हो ?
मलाई गाउनमा धेरै रहर थियो तर, समय अभाव मिलेन । गाउनलाई धेरै समय लाग्छ । रियाज गर्नु प¥यो । रेकर्ड गर्नुप¥यो । स्टुडियो जानुपर्यो । सबैको म्यानेज गर्नुपर्छ । मसँग समय भएन । त्यसैले गाउन सकिनँ । तर, मैले लेखन प्राथकिता दिएँ । गीत लेखन त बाटो हिँड्दा–हिँड्दै पनि गर्न सकिने भयो ।
प्रेम लोप्चनसँग गाएको गीत त निकै चर्चित भयो नि होइन ?
हो, गीत चर्चित भयो । ठेट नेपाली भाका भएर होला, गीत चर्चित भएको । सेलो टाइपको गीत थियो त्यो । त्यसैले शेर्पा र तामाङ समुदायले गीत मन पराए । गीत सन्देशमूलक पनि थियो । तर, यति चर्चित हुन्छ भन्ने चाहिँ सुरुमा लागेको थिएन ।
यस क्षेत्रमा लाग्नुको उद्देश्य के हो ?
यस क्षेत्रमा आएर चर्चा कमाउछु भन्ने पनि होइन । खासमा मलाई गीत गाउन सानै देखिको रहर थियो । सानैदेखि एक्लै कोठमा बसेर लुकीलुकी गीत सुन्ने गर्दथें । अरूको गीत सुनेर म आफु पनि यो गीत कसरी लेख्ने भनेर सोच्थें । त्यसैले चर्चा कमाउने भन्दा पनि मनको चाहना पूरा गर्न गीत लेख्ने र गाउने गरेको हो । गीत तथा साहित्य लेखनतिर शेर्पा समुदाय निकै कमै छन् । त्यसैले पनि म यस क्षेत्रमा आएकी हुँ ।
गीत गाउन पहिलो पटक स्टुडियोमा छिर्दा कस्तो अनुभव गर्नुभयो ?
सुरुमा मैले स्टुडियोमा छिर्दा भोकलको कुनै क्लास लिएको थिइनँ । रहरमा गीत रेकर्ड गर्न मात्रै गएकी थिएँ । रेकर्ड गर्दा प्रेम लोप्चन पनि सँगै थिए । उहाँले स्वर ठीक छ भन्नुभयो । अनि एकै चोटी गीत रेकर्ड भयो । पहिलो पटक स्टुडियो छिर्दा डर लागेको थियो । स्वर नराम्रो भयो कि भन्ने चिन्ता लाग्यो । सुनेर फेरि एक पटक गाउन पाए हुन्थ्यो जस्तो पनि लाग्यो । तर, दास्रो गीतमा चाहिँ त्यस्तो केही भएन ।
तपाईंको सोच गायिका बन्ने कि रचनाकार ?
मलाई दुवैमा रुचि छ । अहिले चाहिँ आफु व्यस्त भएका कारण गायनभन्दा रचनामा नै ठीक लाग्छ ।
यस क्षेत्रमा आउन परिवारको सपोर्ट कस्तो छ ?
मेरो परिवारमा गीत, संगीत र साहित्यमा लाग्ने कोही छैन । त्यसैले परिवारबाट प्रेरणा लिने कुरै भएन । मलाई परिवारबाट पनि खासै सपोर्ट छैन । तर, बाहिरबाट अरूको साथ भने पाएकी छु ।
संगीत के हो ?
संगीत भनेको धडकन हो । संगीत जुनसुकै अवस्थामा पनि चाहिन्छ । छोटो शब्दमा भन्नुपर्दा दुःख सुख, आँसु हाँसोको संगम नै संगीत हो ।
तपाईं एउटा शेर्पा समुदायको सेलीब्रेटी हो । यो समुदायलाई अघि बढाउन के गर्ने सोच छ ?
म शेर्पा समुदायकी हुँ । यस समुदायका युवा पुस्ता जसले गीत संगीतमा चासो राख्छन् उनीहरूका लागि ‘शेर्पा म्युजिक वर्ड’ खोल्ने तयारीमा छु । शेर्पा म्युजिक वर्डमार्फत संगीत सिक्न चाहने तर, आर्थिक अभावका कारण अवसर गुमाइरहेकाहरूका लागि निःशुल्क रूपमा संगीत तथा अभिनय सिकाउने तयारीमा छु । यो काम म छिट्टै सञ्चालन गर्दै छु ।
शेर्पा समुदायभित्र महिला माथि उठ्न सकेका छैनन् भन्छन् नि हो ?
कुनैबेला त्यो अवस्था पनि थियो । शेर्पा समुदायका महिला अशिक्षित थिए । लिडरसिप गर्नमा उनीहरू पछि नै थिए । तर, अहिले त्यस्तो छैन । जमाना बदलिएको छ । महिलाले पनि नेतृत्व गर्न थालेका छन् । शिक्षित बनेका छन् । यदाकदा कहीँ कतै केही स्थानमा भने अभैm पनि महिलामा शिक्षाको विकास हुन सकेको छैन । त्यो भनेको भौगोलिक विकटताको कारण हो । विस्तारै त्यो पनि परिवर्तन हुन्छ ।
अन्तमा केही भन्न चाहनु हुन्छ ?
जति पनि मेरा गीत सुनेर मलाई साथ दिनुभएको छ । त्यसैका कारण मैले नयाँ–नयाँ गीत लेख्ने अवसर पाएकी छु । यसैगरी मेरा गीत सुनिदिन अनुरोध गर्दछु । शेर्पा समुदायभित्र पनि कुनै समूहले एउटा कलाकारलाई हेर्ने दृष्टिकोण फरक छ तर, कलाकार हुँदैमा बिग्रँदैन । सबै एउटै हुँदैन । यो क्षेत्र नराम्रो हो भनेर नबुझिदिन अनुरोध गर्छु ।
Comments
Post a Comment