‘जन्मदेखि मृत्युसम्मै हामी धनसम्पत्ति, नामइज्जत, परिवारकै पछि कुदिरहन्छौं, यसमा अलिकति तलमाथि भयो भने हाम्रो मन दुख्छ, चित्त दुख्छ’, रिम्पोछेले मधुरो स्वरमा भने,
हलुकैसँग रिम्पोछेले यसरी भने मानौं धनसम्पत्ति, नामइज्जत, परिवार भनेको केटाकेटीको बेलुन हो, अथवा पानीको फोका । सारा संसार यसकै पछि कुदिरहेको छ, रिम्पोछेमा भने यीप्रति कस्तो उपेक्षा?
धनसम्पत्ति र नामइज्जतको पछि नकुदे केको पछि कुद्नु त हामी जीवनभर ?
…
असी वर्ष काटिसकेका भिक्षु कृष्णमानको निम्ता टार्न नसकेर म एकाबिहानै छुकी निमा रिम्पोछेलाई सुन्न बौद्धको सेतो गुम्बा पुगेको थिएँ । लामो समय अमेरिकी लाइब्रेरीमा काम गरेका भिक्षु कृष्णमान जीवनको उत्तराद्र्धमा पनि फुर्तिला छन् । जीवनभरि कर्मलाई सँगै डोहोर् याएका उनी बल्ल भिक्षु जीवनको अनुभव गर्दैछन् र घरपरिवारबाट टाढा बसेर यसमै रमाएका छन्।
रिम्पोछेको त कुरै बेग्लै ! हाडमासुले बनेको उनको शरीर ज्ञानको अनुभूतिले आभापूर्ण छ। अनुहारमा सधैं झल्किने बालसुलभ मुस्कानले उनी दुर्बोध्य र असहज लाग्दैनन्। कदकाँठी सानो छ तर दिमागमा अनुभूतिजन्य ज्ञानको निकै शक्तिशाली चिप्स जडेको छ । उनी आफैंले जडेका हुन् त्यो । गुरुकृपा र आफ्नै वर्षौंको साधना र तपस्याले।
भूकम्पले चर्किएको सेतो गुम्बा परिसरमा टाँगिएका पालहरूले नै बताउँछन्, त्यो प्राकृतिक लीलाका बेला यहाँ थुप्रैले आ श्रय पाएका थिए । आफू आ श्रय लिने गुम्बामा भूकम्पले क्षति पुर्याए पनि छुकी निमा रिम्पोछेले प्रधानमन्त्री राहत कोषमा भूकम्पपीडितका लागि ठूलै रकम सहयोग गरेका थिए । आफ्नो गुम्बाभन्दा अरूको दुःखले सायद रिम्पोछेको मन बढी पोलेको थियो।
यसअघि पनि मैले छुकी निमा रिम्पोछेलाई केहीपटक भेटेको छु । अद्भुत जादु छ उनको वचनमा । बालसुलभ मुस्कानले श्रोता मोहित तुल्याउँछन् । उनको शरीरमा बुद्धको ज्ञान सम्पूर्ण रूपमा भरिएको छ कि भनेजस्तो लाग्छ।
‘हामीले सबै धर्मको सम्मान गर्नुपर्छ, सबै संस्कृतिको सम्मान गर्नुपर्छ, सबै प्रकारको शिक्षाको सम्मान गर्नुपर्छ तर आफूलाई के धर्म सुहाउँछ, के धर्मले आफ्नो चित्त बुझ्छ, त्यही धर्म अँगाल्नुपर्छ’, सेतो गुम्बामा सयौं जिज्ञासुमाझ रिम्पोछे बोल्दैछन् । उत्सुकता, जिज्ञासा वा खोजीले यहाँसम्म आइपुगेकाहरू पक्क परेर रिम्पोछेका वचन सुनिरहेका छन्।
म भर्खरै रिम्पोछेको मुखबाट निस्किएका शब्दमाथि गमिरहेको छु। आफूलाई सुहाउने धर्म अँगाल्नुपर्छ भनेर के रिम्पोछेले स्वधर्मको पालना गर्नू भन्न खोजेका हुन्? श्रीकृष्णले गीतामा जे भनेका थिए, त्यही दोहोर्याएका हुन् रिम्पोछेले?
शिवपुरी बाबाको शिक्षा पनि त स्वधर्म नै थियो, रिम्पोछेले भनेजस्तै, ‘आफूलाई के धर्म सुहाउँछ, के धर्मले आफ्नो चित्त बुझ्छ, त्यही धर्म अँगाल्नुपर्छ।’
मैले बुझेको धर्म अरू केही होइन, आफ्नो काम हो । आफूले नित्य गर्नुपर्ने काम। कर्म। अधिकांश गुरुहरू आखिर यही त भन्छन्– आफ्नो काम नछोड । आफ्नो धर्म नछोड।
बुद्धबारे धेरै पढेको छैन मैले । यदि रिम्पोछेले बुद्धवचन नै सुनाइरहेका हुन् भने श्रीकृष्णभन्दा बुद्ध पनि सार रूपमा फरक छैनन् । अधिकांश बुद्धपुरुषहरू सारमा उस्तै सुनिन्छन् भनेर बुद्धपुरुषहरू नै भन्छन्।
रिम्पोछेका आँखामुनि छाला मुजा परिसकेका छन् । ६५ वर्ष पुगिसके, शारीरिक रूपमा परिवर्तन देखिनु अनौठो होइन । तर, त्यही मुजा परेका अनुहार अझ मुजा पार्दै जब उनी मुस्काउँछन्, भक्तहरूलाई कायल पार्छन्। बिछट्ट राम्रा देखिन्छन् उनी त्यो बेला।
त्यही चिरपरिचित मुस्कान फ्याँक्दै रिम्पोछे बोल्दैछन्, ‘धर्म भनेको शील, समाधि र प्रज्ञा हो । पढाइलेखाइसँगै हामीले आफ्नो धर्म, संस्कृति र भाषालाई पछ्याउनुपर्छ । आफूले विश्वास गर्ने, माया गर्ने धर्मलाई पछ्याउनैपर्छ। बुद्ध धर्म र हिन्दू धर्मका कारण नेपालको समाज राम्रो छ।’
जन्मले तिब्बती भए पनि कर्मले नेपाली हुन् यी रिम्पोछे । तिब्बत आन्दोलनका बेला नौ वर्षका उनी आफ्ना बुबा टुल्कु उर्गेन रिम्पोछेसँगै भारत आएका थिए । लामो समय रुम्तेकमा पढेपछि अहिले उनको स्टेसन सेतो गुम्बा बनेको छ। सेतो गुम्बालाई नै केन्द्र बनाएर उनी विश्वभर बुद्धका ज्ञान सरल भाषामा फैलाइरहेका छन् । नेपाली माटोका सबै धर्मलाई उनी प्रेम गर्छन् । हिन्दू धर्मप्रति पनि उनको अगाध श्रद्धा छ।
‘हाम्रो बानीबेहोरा, सन्तोष गर्ने गुण राम्रो छ, अरू देशमा सधैं ‘म, म’ मात्रै भन्छन्, अरूको वास्ता गर्दैनन्’, आसनबाट रिम्पोछे बोल्दैछन्, ‘यहाँ त जसलाई दुःख भए पनि अरूलाई सहयोग गर्छन् । मीठो शब्दले बोल्छन् । राम्रो बानीव्यवहार छ । यो शील हो।’
रिम्पोछेले भनेअनुसार शील त हाम्रो जीवनशैलीमा पहिल्यैदेखि रहेछ । अरूलाई सहयोग गर्ने, राम्रो बानीव्यवहार, मीठो शब्
Comments
Post a Comment