शेर्पाखबर साप्ताहिकः सम्पादकीय
इतिहासको कसीमा कांग्रेसलाई पुरानो पार्टीको संज्ञा दिइन्छ । पुराना पार्टीका नीति र क्रियाकलापपनि पुरानो नै हुनुलाई अस्वभाविक मान्नु हुँदैन । नेतृत्व र सिद्धान्तहरु पुरानोले नै काम चलाउँदै गर्दा पार्टीमा आस्थावान नयाँ अनुहारमाथि अन्याय हुने कुरा भुल्नु हुँदैन । राजनीति वृत्तमा नयाँ ध्रुवीयरेखाहरु कोरिँदै गर्दा कांग्रेस भित्र पुराना कुरालाई नयाँले ‘टसकोमस’ गर्न नसक्नुलाई विडम्वनाको रुपमा लिन सकिन्छ । आफूलाई पुरानो प्रजातन्त्रवादी पार्टी भनेर संवोधन गर्दै गर्दा पार्टी भित्र प्रजातन्त्रिक अभ्यास कतिको भइरहेको छ भन्ने तिरपनि ध्यान दिनुपर्ने हुन्छ । सन्र्दभः कांग्रेसको भरखरै सम्पन्न तेह्रो महाधिवेशनको हो । समावेशी र समानुपातिक कुराहरु उठाउँदै गर्दा कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी भन्न छुटाएको छैन । तर, उनीहरुकोले देखाउने व्यवहारहरुले पार्टी कुन दिशातिर उन्मूख छ भन्ने पुष्टि हुँदै गएको छ । आसन्न महाधिवेशनमा समावेशी, आरक्षण जे–जे नामले पुकारेपनि आखिरी नेतृत्वमा एकल जातीय शक्ति नै हावी भएको छ । पहिचान अर्थात आप्m्नै जाति विरुद्ध खनिनेहरु आरक्षणको कोटाबाट केन्द्रीय सदस्यको कोट लगाउन पुगेका छन् । ‘चिनकाजी श्रेष्ठ’ जस्ता व्यक्तिहरु उदारहणको रुपमा लिन सकिन्छ । कांग्रेसले आफूलाई समावेशी पार्टीको रुपमा रुपान्तरण भएको भन्दै गर्दा बहुसंख्याक जनसंख्या रहेको मगर समुदायले केन्द्रीय समितिमा प्रवेश पाएका छैनन् । अर्कोतर्फ स्थापनाकालदेखि योगदान दिएका ‘किरात राई’ समुदायको पनि खास प्रतिनिधित्व देखिएन् । शेर्पा समुदाय हिमाली क्षेत्रको प्रतिनिधित्व गर्ने मूख्य जाति मानिन्छ । यो जातिबाट पाँच जनाले केन्द्रीय समितिमा गएर पार्टीलाई उठाउने मनशाय देखाएपनि स्थान दिइएनन । यी केही उदाहरणहरुलाई हेर्ने हो भने कांग्रेसले पार्टीभित्रका इमान्दार र त्याग गरेका समुदायको इतिहास मेटाउँने, योगदान विर्सँदै गएको भन्ने पुष्टि हुन्छ । शेर्पा समुदायबाट उम्मेदवार बनेका जिप छिरिङ लामा, आङ गेलु शेर्पा, कर्मा छिरिङ शेर्पा र आङ टावा शेर्पा लगायतबाट कोही एक जनाले मात्रै स्थान पाएको भए आज कांग्रेस आलोचित हुन पर्ने अवस्था रहँदैन थियो भन्दा अतिशयूक्ति नहोला । पुरानो र ठूलो पार्टीभित्र हुने यस्ता खाले असमावेशी कदमले अन्ततः पार्टीलाई नै घाटा पर्ने र ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । कांग्रेस पार्टीमा आबद्ध भएर ‘जरादेखि उख्यालेर रुखै वोक्ने’ शेर्पाहरुपनि छन् । त्यस्ता वफादार कार्यकर्ताका लागि तेह्रो महाधिवेशनले ठूलो धक्का दिएको छ । राजनीति इतिहासमा शेर्पा समुदायमाथि कांग्रेसले गरेको घातको संज्ञा दिनसमेत कतिपय पछि परेका छैनन । यस्तो अवस्थामा राजनीति आस्थालाई केन्द्रभागमा राखेर पहुँचका आधारमा नभई योगदानको आधारमा पार्टीभित्र स्थान दिनुपर्छ भन्ने हो । केन्द्रीय समितिमा अटाउन नसकेका शेर्पा समुदायको प्रतिनिधीलाई विधान अनुसार सभापतिले मनोनयन गरेर कांग्रेसीजन शेर्पा समुदायमा छाएको निरासा हटाउने प्रयास गर्नुको विकल्प छैन ।
Comments
Post a Comment