Skip to main content

४५ ग्यास स्टेशनका मालिक पासाङ भन्छन्– मलाई कुबेरचाहिं नभन्नुस् !

विजय पौडेल/न्यूयोर्क
पासाङ लामा
दश वर्षदेखि न्यूयोर्क गोडमेल गर्दै बसेको पङ्तिकारलाई गत महिना प्रवासी नेपालीकै अर्को बाक्लो बस्ती डलास नजिकबाट बुझ्ने मौका जु¥यो । गैरआवासीय नेपाली संघ, अमेरिकाको यस पटकको साधारणसभा पङ्तिकारका लागि ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ थियो । लामो समयदेखि भेटघाट नभएका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुसँगको प्रत्यक्ष भेट प्रमुख उद्देश्य थियो भने अर्कोतर्फ पंक्तिकारकै सम्पादकत्वमा प्रकाशित हुँदै आएको डायस्पोराको नेपाली भाषाको पत्रिका विश्व सन्देश साप्ताहिकको एक दशकको ठ्याक्कै जुरेको सफल यात्रा टेक्ससबासी नेपालीमाझ बाँड्ने चाहना पनि थियो । तर, बहाना एनआरएन साधारणसभा ।
तीनदिने फुर्सद लिएर न्यूयोर्कदेखि डलास हानिएको पंक्तिकार कार्यक्रमस्थल सेराटन होटल पुगेकै दिन देखिएका एक जना अपरिचित नेपालीको सेरोफेरोमा टोलाउन विवश भयो । सामान्यतया सुकिलामुकिला र सम्पन्नहरुकै वरिपरि झ्याम्मिने समाज त्यहाँ खासै चिरिच्याट्ट नदेखिने मसिना आँखा भएका ती मंगोलियन अनुहारका अपरिचित नेपालीभाषीकै वरिपरि झ्याम्मिएको देखेपछि पंक्तिकार टोलाउन विवश भएको हो । आखिर को हुन् त ती व्यक्ति, जसका अगाडि एनआरएनका ती विशिष्ट व्यक्तित्व अनि समाजका सम्पन्नहरुको घेराउ थियो । मनको कौतुहलता मेटाउन डलासस्थित मेरा मित्र केदार तिमल्सिनालाई सोधिहालें । मित्र केदारले प्रत्युत्तरमा भने– पासाङ लामा भनेका उनी नै हुन् । मैले पुनः प्रश्न तेस्र्याएँ– ‘नाम पो पासाङ लामा होला त, उनी खासमा के हुन् ? थुप्रै मान्छे उनकै वरिपरि छन् त ?’ ‘टेक्ससमा उनको ६०÷७० वटा ग्याँस स्टेशन छ । सफल व्यापारी हुन्,’ केदारको प्रत्युत्तर थियो ।
मैले बुझिहालें, त्यो भिड पासाङको सफलताको राप रहेछ । मित्र केदारको सूचनाअनुसार पनि ६०÷७० वटा ग्याँस स्टेशन भनेपछि अमेरिकाको नेपाली डायस्पोरामा त्यो निकै ठूलो व्यापारिक सफलता हो । १० वर्षे महाशक्ति राष्ट्र बसाइँका क्रममा यति ठूलो व्यापारिक सफलतामा छलाङ मारेको नेपालीसँग त्यसअगाडि साक्षात्कार गर्ने मौका जुरेको पनि थिएन । न्यूयोर्कमा चार–पाँच वटासम्म नेल्स र रेष्टुरेन्टका एक–दुई मालिकहरुसँग त हरेक दिन भेट हुन्छ नै । दुई वटासम्म साना व्यापार गरेर थाकेर पछाडि हटेको त पंक्तिकार स्वयम् नै हो । तर, ७० वटा ग्याँस स्टेशन सञ्चालक भनेपछि पासाङ लामासँग कुरा गर्ने चाहना तीव्र बढ्यो ।
झट्ट हेर्दा अत्यन्त सालिन, सामान्य देखिने ती व्यवसायी पासाङसँग साक्षात्कार गर्ने मेरो चाहना भने टेक्ससमै तीन वटा पसल सञ्चालन गरेर बसेका कपनका भाइ सरोज सिग्देलले पूरा गरिदिए । मलाई पासाङ लामाको सफलताको कथा आम नेपाली समाजमा छताछुल्ल बनाएर लाखौं प्रवासीलाई प्रेरणाको कथा पढाउनु थियो । तर, व्यवसायी पासाङलाई भने ‘मिडिया एक्सपोज’मा खासै रुची रहेनछ । कुरा गर्दै जाँदा व्यवसायी पासाङ आफ्नो सफलताको कथा बताउन राजी भए ।
रामेछापको बाम्ती भण्डारमा जन्मिएका पासाङ लामा सन् १९९७ को अन्त्यतिर अमेरिका आएका हुन् । यो १८ वर्षमा पासाङले टेक्सस राज्यमा खुद्रा पसलसहितका ४५ वटा ग्याँस स्टेशन जोडिसकेका छन् । २० लाख अमेरिकी डलरभन्दा माथिको महँगो घरमा टेक्ससस्थित डलासमा दुई छोरा र पत्नीसहित बसोबास गर्दै आएका शेर्पा भन्छन्– ‘हाल मसँग मोटामोटी ७० मिलियन (७ करोड) अमेरिकी डलर मूल्यको ग्याँस स्टेशनहरु छन् ।’ टेक्ससको नेपाली समाजमा उनको परिचय धेरै वटा ग्याँस स्टेशन भएका नेपालीको रुपमा छ । तर, पासाङको ग्याँस स्टेशन व्यवसायको अलावा एब्रोड आईटी कन्सल्टिङ पनि रहेको छ । यता नेपालमा भने उनले अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई निशुल्क सेवा दिंदै आएका छन् । उनी अध्यक्ष रहेको एब्रोड स्टडी सेन्टरले नेपाली विद्यार्थीहरुसँग आई–२० लगायतका सेवा प्राप्त गर्न कुनै शुल्क नलाग्ने पासाङ बताउँछन् । उनले निशुल्क रुपमा काउन्सेलिङ दिने एब्रोड स्टडी सेन्टर काठमाडौंमा सञ्चालन गरेका छन् । केही समयदेखि उनी नेपालको होटल व्यवसायमा समेत व्यस्त हुन थालेका छन् । मेरी होटल ग्रुपअन्तर्गत पासाङले काठमाडौंको ठमेल र बौद्धमा दुई वटा होटल सञ्चालन गरिसकेका छन् भने पोखराको लेकसाइडमा उनको होटल निर्माणाधीन अवस्थामा छ ।
नेपालका एकमात्र अर्बपति विनोद चौधरीले उनीसँग मिलेर अमेरिकामा चौधरी ग्रुपको प्रवद्र्धनमा काम गर्ने रुची देखाएको पासाङले बताएका छन् । सायद व्यापारिक रुचीले हुन सक्छ, अर्बपति चौधरी र टेक्ससका धनाढ्य पासाङले एक हप्ता भारतको नयाँ दिल्लीमा सँगसँगै बिताए । आफ्नो व्यापार व्यवसायबारेमा बताउँदै गर्दा पासाङले फ्याट्ट भनिहाले– ‘म एकदम सामान्य मान्छे जस्तो भएर जिउन चाहन्छु । अहिले मसँग जति सम्पत्ति भए पनि के गर्नु, आजभन्दा १२ वर्षअगाडिसम्म मसँग केही थिएन । तर, मलाई जीवनले अनुभव सिकाएको छ । यदि आजैको दिन मेरो सबै सम्पत्ति गुमेर सडकमा आएँ भने पनि यति नै समय अवधिमा यो भन्दा धेरै सम्पत्ति आर्जन गर्ने अनुभव यही जीवनमा हासिल गरेको छु ।’
तीन दिनदेखि देखिरहेको थिएँ । वास्तवमा उनले न महँगो सुट लगाए थिए, न त राम्रो टाई । सामान्य कोट र पाइन्टमा अव्यवस्थित शर्टमा घुम्दै गरेका उनलाई पहिलो पटक देख्ने कसैले पनि अमेरिकाको करोडपति नेपाली भनेर अनुमान गर्न पनि सक्दैन । सन् २००० को दशकपछि अमेरिकामा बाक्लिएको नेपाली समाजभित्र टेक्ससको पासाङको हैसियत बनाएका निकै कम नेपाली अमेरिकामा भेटिन्छन् । छोटो समयभित्र कसरी सम्भव भयो त ७ करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति अमेरिकामा जोडेर झण्डै २ सय ५० जनालाई रोजगारी दिलाउन ? लामाले सफलताको राज यसरी खोले– ‘मेरो नम्बर वान बन्ने सूत्रले नै मलाई यति सफलता दिलाएको हो । जीवनमा जुन काम गरे पनि नम्बर वान कामदार बन्नै पर्छ, नत्र पछाडि परिन्छ ।’ उनले नम्बर वान सूत्रको प्रसंगमा विगत सम्झिए– ‘सन् १९९७ मा पिजा बनाउने काममा भर्ती भएको थिएँ । पिजा बनाउनु त मेरो प्राइमरी काम थियो, तर साथमा ट्वाइलेट पनि सफा गरिदिन्थें, टेबल पनि सफा पारिदिन्थें । म्यानेजर मसँग औधी खुसी हुन्थ्यो । त्यहाँ भएका कर्मचारीमध्ये मेरो रिकगनाइज भयो । म त्यहाँ नम्बर वान इम्प्लोई बनें । पछि डलासमा एउटा सेभेन इलभेन स्टोरमा काम खोज्न गएँ । साहुले रातिको काम दिन्छु भन्यो । मैले दायाँबायाँ नसोची टाउको हल्लाएँ । किनकि मलाई काममा छिर्नुसम्म थियो ।’ नम्बर वान बन्ने उद्देश्यले गर्दा त्यहाँ पनि ९ महिनामै  म्यानेजर भए उनी । एक दिन ग्राहकका रुपमा आएका इजी मार्ट भन्ने कम्पनीका म्यानेजरले पासाङको मेहनत देखेर आफ्नो कम्पनीमा कामका लागि उनलाई अफर ग¥यो । त्यो इजी मार्टमा पनि उनको कामको कदर गर्दै पासाङलाई १ वर्षमै डिष्ट्रिक म्यानेजर बनाइदिए । यसरी अरुको कम्पनीमा काम गर्दागर्दै उनले ३० हजार अमेरिकी डलर जम्मा गरिसकेका थिए । ‘त्यही पैसाले डलासस्थित हष्र्टमा एलपी फुडमार्ट भन्ने पसल भाडामा लिएर सञ्चालन गरें । एक वर्षपछि मेरो पसल पारिको सेभेन इलभेन बन्द भयो । त्यो खाली भएको पसल पनि लिएँ,’ पासाङ भन्छन्– ‘टेक्ससको चल्तीका दुई व्यवसाय रेस ट्र्याक र कुइक ट्रिपको नामको अगाडि र पछाडिबाट झिकेर आफ्नो पसलको नाम ‘कुइक ट्र्याक’ बनाएँ ।’ त्यसपछि मेरो पसलको नाम यहाँको स्थानीयलाई परिचित जस्तो लागेपछि ग्राहक ओइरिन थालेको अनुभव उनले सुनाए । हाल टेक्ससमा पासाङको जति पनि किराना पसलसहितको ग्याँस स्टेशन छन्, ती सबै ‘कुइक ट्र्याक’ नाममै सञ्चालित छन् । कुनै दिन व्यापार शुरु गर्दा पहिलोचोटि भाडामा लिएर चलाएको उनको पहिलो स्टोरको मूल्य अहिले २० लाख अमेरिकी डलर पुगिसकेको छ । उनी भन्छन्– ‘यो पहिलो स्टोर नै मेरो जीवनको अस्तित्व हो । व्यक्तिसँग पैसा हुँदा र नहुँदामा अरुले गर्ने व्यवहारमा के अन्तर पाउनुभयो भन्ने प्रश्नमा उनले पैसाको ताप चाहिं हुँदो रहेछ । त्यही तापले मान्छेहरु निकट हुन खोज्ने र रेसपेक्ट गर्ने रहेछ । व्यक्तिगत सम्पत्ति आर्जनमा मात्र होइन, मातृभूमिको पीडामा पनि पासाङको साथ सँगसँगै रहेछ ।
सन् २०१५ को भूकम्पलाई सम्झँदै उनले भने– ‘अमेरिकामा म मर्सिडिज गाडी चढेर करोडपति भनेर मक्ख परेर के गर्ने ? नेपालमा त्यत्रो भूकम्प गयो, मनले मानेन, आफ्नो गाउँ सम्झिएँ । नेपाल नगएको १३ वर्ष भएको थियो । भूकम्प गएको तीन हप्ताभित्रै नेपाल कुदिहालें । तीन महिना गाउँमा बिताएँ, ७० हजार अमेरिकी डलर बराबरको राहत आफ्नै हातले बाँडें । ट्र्याक्टर चढेर राहत बाँड्न जाँदा दुर्घटनामा परेर घाइते पनि भएँ ।’ व्यापारिक सफलताको शिखरमा बसेर पनि आफ्नै सालिन शैलीमा पासाङ भन्छन्– ‘भो, तर मलाई कुबेर चाहिं नभन्नुस् है, गर्न अझै धेरै बाँकी छ ।’

Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’