Skip to main content

शेर्पाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक चाँडपर्व र यसको महत्व






आचार्य सार्की शेर्पा

१. विषय प्रबेश,

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको देशको रूपमा चिन्न सकिन्छ । राष्ट्रिय जनगणना २०६८ ले १२५ जाति तथा समुदायहरूको पहिचान गरेको छ । जस मध्ये नेपालको हिमाली क्षेत्रमा परपूर्वकालदेखि बसोवास गर्दै आईरहेको शेर्पा समुदाय पनि एक हो । शेर्पाहरूको इतिहासको बारेमा विद्वानहरूबीच केही मत भिन्नता भए तापनि भाषा, धर्म र संस्कृतिसँग जोडेर हेर्दा शेर्पाहरूको उत्पत्ति थलो भोट वर्ष मैं हो भन्न सकिन्छ । शेर्पा समुदाय नेपालको पूर्वी हिमाली भेगमा रहन्दै आएकोले शेर्पा अर्थात् पूर्वेली, पूर्वमा बस्ने समुदाय भनेको हो । शुरुमा शेर्पाहरू नेपालको पूर्वी क्षेत्र (श्यारखुम्बु) सोलुखुम्बुमा रहन्दै आए तापनि वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला, गोर्खा आदि जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ । हाल नेपालको अधिकांश जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको पाइन्छ । भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आछाम र पश्चिम वंगल त्यस्तै गरी तिब्बत, भूटान तथा यूरोप र अमेरिका आदि देशहरूमा पनि शेर्पाहरू बसोबास गर्दै आएका छन् ।

२. शेर्पा समुदायमा बुद्ध धर्मको विकासः

शान्तिका महानायक सिद्धार्थ गौतम नेपालको लुम्बिनीमा जन्म हुनु भएको थियो । उहाँ बाल्यावस्थादेखि नै अति ज्ञानवान, शीलवान् व्यक्ति हुनु हुन्थ्यो । उहाँले २९ वर्षमा गृहत्याग गरी ६ वर्षसम्म कठोर तपस्या गर्नु भएको थियो । तर पनि उहाँले सम्यक् ज्ञान प्राप्त गर्न नसकेकोले तत् पश्चात् उहाँले मध्यममार्ग अपनाउनु भई सम्यक् सम्बोधि ज्ञान प्राप्त गर्नु भएको थियो । बुद्धत्व प्राप्त पश्चात् भारतको धेरै ठाउँमा उपदेश दिनुभएकाले भारतमा बौद्ध धर्मको विकास भएको मानिन्छ । तत् पश्चात् कालान्तरमा यस धर्मको विकास र लोकप्रियताले नेपाल, चीन, तिब्बत, जापान र मंगोलिया लगायत एशियाका धेरै मुलुकहरूमा व्यापक स्थान पाएका छन् ।

(क) तिब्बतमा बुद्ध धर्मको प्रवेश ः

हिमाली क्षेत्र तिब्बतमा सर्वप्रथम धर्मराज सोङ्चेन गम्पो (जन्मकाल ५५७ ई.) को राज्यकालमा बौद्ध धर्मको प्रवेश भएको थियो र विशेषतः (७६३ ई.मा) नालन्दाबाट शान्तरक्षितको तिब्बत आगमन पश्चात् यसले अझ व्यापक रूप लिएको थियो । उहाँलाई तिब्बतमा बौद्धधर्मको प्रचारार्थ स्वयं राजाले आमन्त्रण गर्नुभएको थियो । त्यसपछि पनि विभिन्न कालक्रममा तिब्बती राजाहरूको अनुरोधमा बौद्ध धर्मको प्रचार–प्रसार तथा बुद्धवचन एवं अन्य बौद्ध धर्म–दर्शनका शास्त्रहरू संस्कृत भाषाबाट भोट भाषामा अनुवाद गर्ने हेतुले भारत वर्षबाट उल्लेख्य रूपमा प्रकाण्ड बौद्ध विद्वान् एवं पण्डितहरूको तिब्बतमा आठौं शताब्दीदेखि एघारौं शताब्दीसम्म आवगमन क्रम जारी रहेको थियो ।

तिब्बतमा प्रारम्भिक बौद्ध धर्मको विकासको दृष्टिले खेन–लोप–छ्योसुम अर्थात् उपाध्याय शान्तरक्षित, आचार्य पद्मसम्भव र धर्म राजा ठिसोङ देउचेनलाई प्रमुख पात्रको रूपमा लिईन्छ । यानको दृष्टिले तिब्बती बौद्ध परम्परा महायान अन्तर्गत पर्दछ । किनकि बौद्ध धर्मको प्रचारक्रममा भारतका दक्षिणी छिमेकी राष्ट्रहरूमा थेरवादी परम्पराको अधिकतम प्रचार भएको थियो भने उत्तरी छिमेकी राष्ट्रहरू जस्तै तिब्बत, चीन, कोरिया, मंगोलिया एवं जापानमा महायान बौद्ध परम्पराको व्यापक प्रचार प्रसार भएको थियो। त्यसपछि तिब्बतमा महायान बौद्ध धर्मको विकासक्रममा ञिङमा, काग्यु, साक्य, गेलुग सहित चार महायान तिब्बती बौद्ध परम्पराहरूको विकास भएको थियो । जसलाई तिब्बतमा बौद्धधर्मको चरम विकासको रूपमा लिन सकिन्छ । ती मध्ये ञिङमा परम्परालाई तिब्बतकै प्राचीनतम बौद्ध दर्शन परम्पराको रूपमा मानिन्छ । 

धर्मगुरुहरू तत्कालिन तिब्बतको राजनीति तथा सामाजिक विगठनका कारण तिब्बतको खाम प्रान्तबाट वर्तमान नेपालको पूर्वी भेगमा आउनु भएको थियो । तिब्बतमा मान्दै आएको बौद्ध परम्परालाई निरन्तरता दिदै आएकोले महायनी बौद्ध ञिङमा परम्परा शेर्पा समुदायमा पनि विकास भएको देखिन्छ । तसर्थ महायानी ञिङमा परम्परा नै शेर्पा समुदायहरूको प्राचीन तथा आदर्श धर्म हो । शेर्पा समुदायहरूका सम्पूर्ण संस्कृति र जीवनशैली महायानी ञिङ्मा बौद्ध परम्परामा आधारित छन् । आज पनि बाहुसंख्यक शेर्पाहरू ञिङमा परम्परालाई आफ्नो आस्था–भक्तिको केन्द्र मान्दछन् भने काग्यु, साक्य र गेलुग परम्परामा आस्था राख्नेहरू पनि रहेका छन् । त्यसै कारण शेर्पा समुदायहरूले प्राचीनकालदेखि नै बौद्ध धर्मको अनुसरण गर्दै आएको देखिन्छ ।

(ख) सोलुखुम्बु क्षेत्रमा बुद्ध धर्मको प्रबेश ः

शेर्पाहरूको मूलथलो सोलुखुम्बु क्षेत्रमा सर्वप्रथम लामा साङ्वा दोर्जेले ञिङमा परम्पराको शुरुवात गर्नुभएको थियो । उहाँले खुम्बु क्षेत्रको पाङवोचेमा पाल्रिवोे नामक गोन्पा निर्माण गरी यस परम्पराको प्रारम्भिक स्थापना गर्नु भएको बुझिन्छ । उक्त गोन्पालाई स्थानीयबासीहरूले सबैभन्दा पुरानो गोन्पाको रूपमा लिने गर्दछन् । शेर्पा इतिहासहरूमा उल्लेख गरे अनुसार लामा साङ्वा दोर्जेका महिला भाई राल्वा दोर्जे र कान्छा भाइ खेन्पा दोर्जेले पनि क्रमशः थामे र रिमीज्युङ गाउँमा गोन्पाहरू स्थापना गरी बौद्ध धर्म र दर्शनको व्यापक प्रचार–प्रसार गर्नुभएको थियो । यस क्रममा सोलुखुम्बु क्षेत्रमा कैयौं बौद्ध गोन्पाहरू निर्माण भइसकेका छन् । यी गोन्पाहरूमा शेर्पाहरूले दैनिक पूजापाठ र धार्मिक गतिविधि लगायत वार्षिक रूपमा मनाइने विशेष बौद्ध उत्सव र अन्य सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गर्दै आएका छन् । अधिकांश गोन्पाहरूमा बौद्ध धर्म र दर्शन विषयक शिक्षाहरूको गहन अध्ययन–अध्यापन समेत हुँदै आएकोले गोन्पाहरूलाई एउटा सामूूहिक आस्थाको केन्द्र मात्र नभएर समग्र बौद्ध शिक्षाको केन्द्र एवं विद्यापीठको रूपमा पनि मान्न सकिन्छ । बौद्धधर्म र शिक्षालाई प्रचार गर्ने क्रममा प्राचीनकालीन शेर्पाहरूले बौद्ध गोन्पा निर्माणको अतिरिक्त तथागत बुद्धको विविध चैत्य निर्माण, षडाक्षरी मन्त्र (ॐ मणि पद्मे हूँ) युक्त ढुङ्गामानेको स्थापना, विभिन्न चट्टानहरूमा विविध बौद्ध मन्त्रहरूको अंकन, अग्ला डाँडाहरूमा धारणी मन्त्रयुक्त मणि, हातेमाने (मणि लकखोर) द्वारा सुसज्जित द्वार (कनिङ) र खोला नालाहरूमा जलमाने (मणि छुखोर) जस्ता त्रिरत्नका काय, वाक् र चित्तका प्रतीकात्मक आधार–अधिष्ठानहरू समेत निर्माण गरेका छन् । साथै शेर्पाहरू विश्वशान्तिको कामना र परहितको भावनापूर्वक उच्च पहाड–पर्वत, गहिरो नदीनाला, घन वनजंगल र रमणीय तथा एकान्त स्थलहरूमा विश्वशान्ति, आरोग्य एवं अनेकन रक्षामन्त्रयुक्त पञ्चरंगी ध्वजा–पताका (लुङता) हरू लगाउने गर्दछन् । पाप शोधन र पुण्यार्जनको रूपमा गोरेटो बाटो खन्ने, भोकोनांगोलाई यथा शक्य भोजनदान र वस्त्रदान गर्ने,  खोलानालाहरूमा पुल निर्माण गर्ने, दिनको अन्तमा आफुले गरेका पापहरूको शुद्धि तथा दिनभरी गरिएको पुण्यकार्यको परिणामना गर्दै षडाक्षरी मन्त्रोच्चरण गर्दै माला जप्ने र दिनको आरम्भमा प्राणीहरूको हितार्थ गर्ने सम्पूर्ण कार्य सफलताको कामना गर्दै ईष्ठ देव, देवीहरूलाई पवित्र जलार्पण (योनछयाप) गरी ढोक गर्ने गर्दछन् । यी सबै आचरणहरूलाई शेर्पाहरूले प्राचीनकालदेखि नै दैनिक चर्याको रूपमा सम्पन्न गर्दै आएका छन्, जुन बौद्ध धर्मका विशुद्ध आचार पक्षहरू हुन् ।

३. शेर्पाहरूले मान्ने प्रमुख चाँडपर्वहरू ः

परापूर्वकालदेखि शेर्पाहरू बौद्ध धर्ममा आस्था र विश्वास राख्ने भएकोले जुन सुकै सामाजिक कार्य गर्दा अहिंसा र प्रतीत्यसमुत्पादको सिद्धान्तमा रहेर सम्पूर्ण कार्यहरू सु–सम्पन्न गर्ने गर्दछन् । त्यसैले शेर्पा समुदायको समाज मैत्री र करुणा आदि भावनाले परिपूर्ण भएको समाज हो । यो समाज हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरूबाट टाढा रहेको छ । शेर्पाहरूको आफ्नै भेष–भुषा, नाच–गान, खान–पान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङ्ग रोगन, मुर्ति कला, चित्र कला आदि अन्य समुदायको भन्दा केही फरक रहेको देखिन्छ । शेर्पाहरूले मान्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव (ल्हाबापा तुइक्षेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, शुक्ल पक्षको दशमी पूजा, (छेचु) र कृष्ण पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङन्य (मौन व्रत) डुम्ची (डुव्क्षोद्) लोसार आदि रहेका छन् । 

(क) बुद्ध जयन्ती (सागा दावा)

बैशाख पूर्णिमा शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण हुनु भएको त्रिसंयोगको दिन पर्दछ । यस दिनलाई विश्वका बौद्धमार्गीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गर्छन् । नेपालमा वि.सं. २००८ को बुद्ध जयन्तीका दिनदेखि पहिलोपटक सार्वजनिक बिदा घोषणा गरिएको थियो । साथै बुद्ध जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ ।
सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले पवित्र महिनाको रूपमा लिने गर्दछन् । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । पात्रोको फरकले गर्दा बुद्ध जयन्ती र सागा दावा १ महिनाको फरकमा परे तापनि वास्तवमा बुद्ध जयन्ती र सागा दावा एउटै हो ।

(ख) प्रातिहार्य महोत्सव (छोठुल दुछेन) 

भोट चन्द्र पात्रो अनुसार पहिलो महिनाको प्रतिपदादेखि पूर्णिमासम्म शाक्यमुनि बुद्धले श्रावस्तीमा अबौद्ध अर्थात् तैर्थिकहरूमाथि १५ दिनसम्म विभिन्न प्रातिहार्य शक्ति प्रदर्शन गर्नु भई विजय प्राप्त गर्नु भएको दिन भएकोले प्रतिपदादेखि पूर्णिमासम्म प्रतिहार्य महोत्सव (छोठुल दुछेन) को रूपमा मनाउने गर्दछ । प्रातिहार्य शक्तिमा विजयको प्रतीक लिच्छविहरूले श्रावस्तीको जेतवनमा स्थापना गरिएको चैत्यलाई प्रातिहार्य चैत्य (छोठुल छोर्तेन) भनिन्छ ।

(ग) धर्मचक्र प्रवर्तन महोत्सव (छोखोर दुछेन)

छोखोर दुछेन अर्थात् भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त पश्चात् पहिलो पटक धर्मचक्र प्रवर्तत गर्नु भएको दिनको रूपमा मान्ने गर्दछन् । यस दिनलाई भोट ज्योतिस पात्रो अनुसार छैठौं महिनाको चतुर्थी तिथि परेकोले भोट भाषामा डुक्पा छेजी पनि भन्ने गर्दछ । शान्तिका महानायक भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त पश्चात् भारत उत्तर प्रदेश वाराणसीको सारनाथमा पहिलो पटक पञ्चवर्गीय भिक्षु (आज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिक) लाई चार आर्य सत्य (दुःख सत्य, समुदाय सत्य, निरोध सत्य र मार्ग सत्य) को उपदेश दिनु भएको थियो, जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ । शाक्यमुनि बुद्धले पहिलो पटक धर्मचक्र प्रवर्तन गरिएको उपलक्ष्यमा पञ्चवर्गीय भिक्षुहरूले एक चैत्य स्थापना गरिएको थियो । सो चैत्यलाई छोखोर छ्योर्तेन अर्थात् ‘‘टासी गोमाङ” छ्योर्तेन् पनि भन्ने गर्दछ । 

(घ) देवलोक अवतरण महोत्सव ( ल्हाबब दुछेन)

ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव भोट चन्द्र पात्रो अनुसार हरेक वर्ष ९ औं महिनाको कृष्णा पक्ष द्वदशीमा पर्दछ । महाराजा शुद्धोदन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थ गौतमको जन्म भएको सातौं दिनमा महारानी मायादेवीको देहान्त भइ तुषित देवलोकमा जन्मनु भएको थियो । माता मायादेवीको देहान्त पश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नु भएको थियो । राजकुमार सिद्धार्थ गौतमलाई राजदरवारमा विभिन्न भौतिक सुख सम्पन्न रहेको स्थान उपलब्ध गराई दिदा पनि सबै भौतिक सुख परित्याग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनु भएको थियो । तत् पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भारतको विहार प्रदेशको उरुवेल गाउँको नैरन्जन नदीको किनार (बोधगया) मा ६ वर्षको कठोर ध्यान साधनापछि ३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गर्नु भएको थियो । बोधिज्ञान प्राप्त पश्चात् शाक्यमुनि बुद्धले विभिन्न स्थानमा धर्म प्रवचन दिनु भएको थियो ।

शाक्यमुनि बुद्ध ४१ वर्षको उमेरमा आफ्नो माता मायादेवीले तुषित देवलोकमा जन्म लिनु भएकोले उहाँलाई धर्म प्रवचन गर्नका निम्ति तुषित देवलोकमा पाल्नु भएको थियो । उहाँले देवलोकमा आफ्नो माता र देवताहरूलाई प्रवचन दिनु भएको थियो । श्रावस्तीमा भिक्षुहरू सबै एकै साथ वर्षाबासमा रहेको बेला तत्कालिन मगधका राजा बिम्बिसार र श्रावस्तीका राजा प्रसेनजितलाई शाक्यमुनि बुद्ध कहाँ रहनु भएको थाहा नभएपछि भिक्षुहरूलाई सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो मातालाई प्रवचन दिइरहनु भएको छ भन्नु भएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रणा गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्याहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोकमा आमन्त्रणा गर्नु भएको थियो । 

शाक्यमुनि बुद्धले उहाँहरूको आमन्त्रणालाई स्वीकार गरी कार्तिक कृष्णा पक्षको द्वदशीका दिन देव, मनुष्य सपरिवार चमत्कार सीढीबाट मनुष्य लोकमा पाल्नु भएकोले यस दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव दिवसको रूपमा मान्ने गर्दछ । विशेष गरी यस दिन बौद्धमार्गीहरूले साक्षात् बुद्धको रूपमा विश्वास गरिने चैत्य, मणिहरूलाई सरसफाई गरी रङ्गाउने र पञ्च रंगी ध्वाजा, पताका लगाई पाठपूजा प्रतिष्ठान (राब्ने) गर्ने प्रचलन रहेको छ । साथै गोन्पा, चैत्य जस्ता पवित्र स्थानहरूमा पाठपूजा, धार्मिक प्रवचन आदि कार्यक्रमको पनि आयोजना गर्ने गरिएको पाईन्छ । यसै उपलक्ष्यमा शिष्यहरूले एक चैत्य स्थापना गर्नु भएको थियो । सो चैत्यलाई देव अवतरण चैत्य भनिन्छ ।

(ङ) शुक्ल र कृष्ण पक्षको दशमी (छेचु ञेरङ )

महायान बौद्ध परम्परामा आचार्य पद्मसंभवलाई दोस्रो बुद्धको रूपमा मान्ने गर्दछ । तसर्थ शेर्पा समाजमा गुरु पद्मसंभवलाई विशेष स्थान दिएको पाईन्छ । छेचु अर्थात् शुक्ल पक्षको दशमी, यो दिन गुरूपद्मसंभवले विशेष कार्य लीला प्रदर्शन गर्ने भएकोले यस समयमा प्राणीहरूको हितार्थ गुरु पद्मसम्भव, डाक, डाकिनी सपरिवार साक्षात् पाल्नु भएर प्राणीहरूको हितकार्य गर्नुहुने तिथि पर्दछ । त्यसैले प्रत्येक महिनाको दशमीका दिन गुरु पद्मसंभवको दिवसको रूपमा गोन्पाहरूमा विशेष पूजा गर्ने प्रचलन रहेको छ । कुनै ठूलो गोन्पाहरूमा वर्षमा एक पटक (छेचु) दशमीको दिन गुरु छेनग्यात् अर्थात् आठ प्रकारका गुरूपद्म संभवको कार्यलीलासँग सम्बन्धित धार्मिक नृत्य गरी गुरुको दिवस मनाउने परम्परा पनि रहेको छ । साथै ञेरङ अर्थात् कृष्णा पक्षको दशमीमा पनि गुरु पद्मसंभवको साथै (खान्डो) डाकिनीको पूजा गर्ने परम्परा रहेको छ । 

(च) उपवास व्रत (ञ्युङ्ने)

केही दिनको लागि आठ शीलको पालना गरी कुनै पनि खाना पिना नगरी बिमारी जस्तै गरी मौन व्रत बसी मन्त्र जप, पाठपूजा आदि पुण्य कार्य गर्नुलाई ञुङ्ने अर्थात् बिरामी जस्तै गरी बस्ने उपवासलाई बुझिन्छ । ञ्युङने उपवासमा विषेश गरी आर्य अवलोकितेश्वरको पाठपूजा र मन्त्र जप गर्दै ढोक गर्ने गर्दछ । शाक्यमुनि बुद्धसँग सम्बन्धित पर्वहरू जस्तै बुद्ध जयन्ती, सागा दावा, छ्योखोर दुछेन आदि महत्वपूर्ण दिनहरूमा भिक्षु, श्रमणेर, श्रमणेरिका, उपासक, उपासिका तथा गृहस्थीहरू उपवास बसी पाठपूजा गर्ने गर्दछन् । यो परम्परा शेर्पा समुदायका प्राय सबै गोन्पाहरूमा गाउँलेहरूको अनुकूल हुने गरी वर्षमा एक पटक मनाउने गरिन्छ ।

(छ) डुप्छो (डुम्जी)

हिमाली बौद्ध परम्पराका मतानुसार गुरु पद्मसम्भवको जन्म उड्डियनको धनकोश नामक समुद्रमा कमलको फूलमाथि वाँदर वर्षको दशमीमा जन्मनु भएकोले यसलाई शेर्पाहरूले भोट चन्द्रपात्रो अनुसार मंसिर महिनामा डुप्छो महोत्सवको रूपमा मनाउने गरिन्छ । यस डुप्छो महोत्सवलाई महासिद्ध लामा साङ्वा दोर्जेले पहिलो पटक नेपालको, खुम्बु क्षेत्रमा रहेको पंबोचे गोन्पाबाट शुरु गरिएको मानिन्छ । त्यसपछि रोल्वा दोर्जे थामे गोन्पा र खेन्पा दोर्जेज्यूले रिमेज्युङ गोन्पामा यो महोत्सव मनाउने परम्पराको शुरुवात् गर्नु भएको इतिहास पाईन्छ । तत्पश्चात् लामा साङ्वा दोर्जेले गृहस्थीहरूलाई पुण्यकार्यमा संलग्न गराउनका निम्ति उक्त डुप्छो महोत्सवलाई वार्षिक रूपमा आयोजना गर्न दिएको भनाईहरू पाइन्छ । तर पनि लामा सङ्वाङ दोर्जेको देहावसान पश्चात् जनसमुदायहरूले वाँदर वर्षको दशमीमा मात्र नभएर वार्षिक रूपमा उहाँको सम्झनमा उत्सव मनाउने प्रचलन रहेको पाइन्छ । त्यस समयमा खुम्बु क्षेत्रमा धेरै जनसंख्या नरहेकाले सबै थामे गोन्पामा सामूहिक रूपमा मनाउने गरिए तापनिपछि आएर खुम्बु क्षेत्रमा नै पनि डुप्छो (डुम्जी) महोत्सव मनाउने कार्यक्रम आयोजना गर्दै आएको देखिन्छ । यसैगरी डुप्छो पूजा गर्ने नावोचे क्षेत्रका बासिन्दाहरू खुम्बुमा, फोर्चेका बासिन्दाहरू पंबोचे गोन्पामा, लुक्लाका बासिन्दाहरू रिमेज्युङ गोन्पामा आउनु पर्ने भए तापनि कालान्तरमा उहाँहरूले आ–आफ्नो स्थानमा नै यो उत्सव मनाउने परम्परा रहदै आएको शेर्पाहरूको इतिहासमा पाईन्छ  ।

अहिले डुप्छो (डुम्जी) महोत्सव पंबोचे, थामे, खुम्बु, नावोचे, फोर्चे, रिमेज्युङ, लुक्ला, जुन्बेशी, सकार, किल्खोर दिङ, गोली आदि शेर्पाहरूको बाक्लो बसोबस रहेको स्थानमा मनाउने प्रचलन रहेको छ । यो डुप्छो (डुम्जी) पूजा कार्यक्रमलाई शेर्पाहरूले आफ्नो पूर्वजहरूबाट परम्परागत रूपमा मनाउदै आएकोले यसलाई पहिचानको रूपमा मनाउने प्रचलन रहेको छ । पुण्यकार्य भएकोले गाउँलेहरूबाट वार्षिक रूपमा आयोजना गर्दै आएको हुँदा समयानुसार विकास हुँदै आएको प्रष्ट देखिन्छ । 

(ज) मणि रिल्डुप

सन् १९१९ भूमि स्त्री, भेडा वर्षमा परम श्रद्धेय जारोङ ङावाङ तेन्जीन नुर्वुज्यू तेङ्बोचे गोन्पाको प्राण–प्रतिष्ठान (रब्ने) कार्यक्रमको लागि खुम्बु क्षेत्रमा पाल्नु हुँदा महाकारुणिक सुगत संग्रह (थुग्जेछेन्पो देश्येग कुनदु) पूजा विधिबाट मणिरिल्डुपको महासिद्धि मात्र नभएर जससँग सम्बन्धित नृत्य परम्परा गर्नु पर्ने उहाँको आदेश अनुसार तेङ्पोछे, थामे र चिवाङ गोन्पाका धर्मगुरुहरू स्वतस्फूर्त रूपमा एकता भई नृत्य परम्परा शुरु गरिएको थियो । जुन नृत्य परम्परालाई अहिले पनि अटुट रूपमा थामे गोन्पामा भोट चन्द्रपात्रो अनुसार चौथौं महिनामा, चिवाङ गोन्पामा छैटौं महिनामा र तेङ्पोचे गोन्पामा नवौं महिनामा यो उत्सव मनाउने गरिन्छ ।

मणि रिल्डुपको पूर्व तयारीको लागि आर्य अवलोकेतेश्वरको साधना विधि अनुसार मण्डल निर्माण गरी पूजा सम्पन्न गरिन्छ । सर्व प्रथम मण्डलको स्थापना गर्न आवश्यक पर्ने स्थानको लागि भूमिपतिलाई पूजा गरी मण्डल तथा पूजामा आवश्यक पर्ने पूजा सामग्रीहरू तयार गरिन्छ । तत्पश्चात् चार दिकपालहरूलाई पूजा गरी मणिरिल्डुप पूजा सम्पन्न नभएसम्म कुनै बाधा नहोस् भनी सिमाना तय गरिन्छ । जसलाई स्थानीय भाषामा थोदेम्बु भनिन्छ । माणिरिल्डुपमा विषेश गरी आर्य अवलोकेतेश्वरको पाठपूजा र साधना गर्ने गर्दछ । आर्य अवलोकितेश्वरको मन्त्र ओम् आ हूँ ह्रीः ओम् मणि पद्मे हुँ निरन्तर रूपमा धेरै दिनसम्म जप गरी मणि रिल्वु अर्थात् मन्त्र गोली चक्कीलाई सिद्ध गरिन्छ । सार्वजनिक समारोहको पहिलो दिन रिन्पोछेज्यूबाट गाउँले भक्तजनहरूलाई दीर्घायु अभिषेक (छेवाङ) प्रदान गरिन्छ ।  अभिषेक (छेवाङ) को साथमा उक्त सिद्ध गरिएको मणि रिल्वु (मन्त्र गोली चक्की) लाई उपस्थित सबैलाई प्रसादको रूपमा वितरण गरिन्छ । मणिरिल्डुपको सार्वजनिक समारोह आयु अभिषेक, धार्मिक नृत्य, अग्नी पूजा, मण्डल विसर्जन गरी करिब चार दिनको हुने गर्दछ ।

(झ) यर छ्याङ

यर छ्याङ गोठलोहरूले सामुहिक रूपमा चन्द्र पात्रो अनुसार छैठौं महिनामा मनाउने एक पर्व हो । यो महिनामा चौरी, याक, नाक तथा गाईको गोठलाई उच्च पहाडी क्षेत्रमा लैजाने गर्दछन् र बौद्ध परम्परा अनुसार उपयुक्त तिथिमा लामा धर्म गुरुहरूलाई आमन्त्रण गरी सामूहिक रूपमा पञ्च रङ्गी ध्वाज, पतक (दर्चो, लुङ्ता) लगाई ईष्ठ देव, देवीहरूको पूजा गर्ने गरिन्छ । उक्त दिन गोठलोहरूले छरछिमेकी र ईष्ठमित्रलाई पनि आमन्त्रण गर्ने गर्दछन् । पूजा पश्चात् गोठलोहरू नाचगान गरी रमाईलो गर्ने गरिन्छ ।

(ञ) लोसार 

लोसार, लो भनेको ‘वर्ष’ र सार भनेको ‘नयाँ’ हो, अर्थात् लोसारको शाब्दिक अर्थ के हो भने एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनुलाई बुझिन्छ । हाम्रो समाजमा विगतको वर्षलाई विदाई गर्नका लागि लोसार आउनुभन्दा २, ३ दिन पहिलेदेखि लामा गुरुहरू आमन्त्रण गरी भव्य पूजा गर्ने प्रचलन पनि रहेको छ । त्यसैगरी आउन लागेको लोसार अर्थात् नयाँ वर्षको स्वागत गर्नको लागि आफ्नो गच्छे अनुसार जमर्को गर्ने गर्दछ । नेपालमा हाल तो लोसार, सोनाम लोसार र ग्याल्पो लोसार गरी तीन प्रकारका लोसारहरू मनाउने गरेको पाईन्छ । उक्त तीन लोसारका नाम र मनाउने महिना फरक–फरक भए तापनि मनाउने विधिमा फरक छैन । शेर्पा समुदायमा सोनाम लोसार र ग्याल्पो लोसार दुबै मनाउने परम्परा रहेता पनि धेरै जसोले ग्याल्पो लोसार नै मनाउने गरेको पाईन्छ ।

भोट पात्रोको बाह्रौं महिनाको कृष्णापक्ष चतुर्दशी (ङिशुगु) को दिन घर आँगनहरू सफा गरी बेलुका सबै परिवार एक साथ रहेर रमाइलो गर्दै नौ किसिमका खाद्य गेडागुडीहरू मिसाएर पकाएको गुथुक् (थुक्पा) अर्थात् कोटी खाइन्छ । गुथुक खाने क्रममा आँटाको डल्लो भित्र खुर्सानी, कोइला, घ्यु, नुन, कागज आदि राखेर सबैलाई भाग पुग्ने गरी एक एक वटा पस्कने गरिन्छ । गुथुक खानु भन्दा पहिला त्यो डल्लो क्रमशः एक एक जनाले खोलेर देखाउने गरिन्छ र त्यसको अर्थ लगाउदै हासखेल गरिन्छ । गुथुक खाइसकेपछि दिऊँसो घर आँगन सफा गरिएको फोहोर मैलाहरू कुनै बाँकी नरहने गरी राति नै फाल्ने गर्दछ । गोन्पा तथा गाँउघरका प्रमुख स्थानहरूमा सामूहिक रूपमा गुथुक कार्यक्रम आयोजना गरी धर्म गुरुहरूबाट विदाई हुने सालको ग्रह–दशाले नयाँ सालमा निरन्तरता नपाओस् र नयाँ सालमा सबैको ग्रह–दशा शान्त भई प्रगतिको कामना गर्दै विषेश पूजा गर्ने गरिन्छ ।
त्यसको भोली पल्ट औंसीका दिन आउन लागेको लोसारको लागि विशेष गरी घरको बाहिरा भित्र सजाइन्छ । घरको भित्ताहरूमा अष्टमंगल, स्वस्तिक, टासी देलेग आदि चिन्हहरू कोर्ने गर्दछन् । लोसार पूजा तथा अतिथिहरूको लागि रोटी (खाप्से) पकाउनुको साथै विभिन्न किसिमका मिठाई, फलफूल र गेडागुडीहरू किनेर सजाउने गर्दछ । 

नयाँ सालको प्रतिपदाको विहानै धाराबाट पानी लिएर देवतालाई शुद्ध पानी, धुप र दीप चढाई आगमी वर्षहरूमा सबैको शुभमंगल होस् भनी प्रार्थना गर्दछन् । त्यसपछि घ्यू, चिनी, दुध आदि हालेर बनाएको पीठोको परिकार (छेमार) र खाप्से खाने गर्दछन् । घरको आँगन र घरमाथि पञ्चारंगी ध्वजा पताका फरफराई सबैले एकै साथ ‘‘किकी सो सो ल्हा ग्यलो’’ (सुख होस् सुख होस् देवताको जय होस्) भनि विजयका प्रतीक सेतो पीठो आकासमा उडाएर रमाइलो गर्ने गरिन्छ । कुलदेवताहरूलाई साङ, सेरकेमको पूजा गरी आ–आफ्नो धर्म गुरु, अभिभावकहरू र गोन्पा, चैत्यहरू भएको स्थानमा गएर आशिर्वाद लिन्छन् । त्यसैले यस दिनको लोसारलाई लामा लोसार भनिन्छ ।

दोस्रो दिन फेरी गोन्पा वा सार्वजनिक स्थलहरूमा जम्मा भइ एक आपसमा टासी देलेग अर्पण गर्दै शुभकामना आदानप्रदान गर्दै आफ्नो मौलिक भेषभूषामा मिठोमिठो खानेकुरा आदान प्रदान गरी लोसार मनाउने गरिन्छ । साथै आ–आफ्नो गाउँठाउँका मान्यजनहरू कहाँ गई आर्शिवाद लिन्छन् । त्यसैले यस दिन मनाउने लोसारलाई ग्याल्पो अर्थात् राजाको लोसार भनिन्छ ।

तेस्रो दिन दीर्घायु र सबै प्रकारका जीवनमा आई पर्ने विघ्नवाधालाई हटाउनको लागि गोन्पा वा बौद्धको तीर्थ स्थानहरूमा गएर ध्वजा पतका आदि लगाई जय जयकार गर्दै सातुको पिठो छर्दै खुशी मनाउँछन् । यस दिन मनाउने लोसारलाई (छ्योक्योङ) धर्मपालको लोसार भनिन्छ ।

(ट) फग्ञिङ

परापूर्वकालदेखि नै मनाउदै आएको फग्ञिङ फलित ज्योतिष (ज्युंची) अनुसार ग्रीष्म ऋतुको मध्यमा पर्दछ । आकासमा विषेश प्रकारको तारा नक्षत्र उदय हुने दिन पानी, खाद्यबाली र फलफुलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने भएकोले सो समयमा नुहाई धुहाई गरे कुनै पनि रोग नलाग्ने, खानाहरू पनि पौष्टिक तत्वयुक्त हुने जन विश्वास रहेको छ । त्यसैले यो दिन छरछिमेक, इष्टमित्रहरूसँग सामूहिक रूपमा एकै ठाउँमा बसेर विशेष परिकारको खाना बनाएर खाने र रमाईलो गर्दै यो पर्व मनाउने गर्दछ । यो पर्व सोलुखुम्बुको खुम्बु र दोलखाको वालुङ क्षेत्रमा विषेश मनाउने गरेको पाईन्छ ।

(ठ) लोतोक बुलुप (लोसार पुलुप)

भोट चन्द्र पात्रो अनुसार नवौं महिनाको पूर्णिमामा मनाउने यो चाँड विशेष गरी परापूर्वकालदेखि समूह–समूह बनाएर अन्न, दान संकलनको लागि छरछिमेकको घरमा गएर नाचगान गर्दै मनाईछ । आफ्नो घरमा आउनु भएका अन्न, दान संकलकहरूलाई अन्न चढाउने पर्व भएकोले यस पर्वलाई लोतोक बुबुप अर्थात् अन्न चढाउने पर्व भनेको कथान रहेको छ । तर लोतोक बुलुप शब्द अपभ्रंश भएर लोसार पुलुप भएको हुन सक्ने शेर्पा भाषा विज्ञहरूको भनाई रहेको छ । परापूर्वकालमा घरमा अन्न माग्नु आउनेहरूलाई विशेष प्रकारले स्वागत (सुछाङ) गरेर अन्न चढाउने र सो संकालन गरिएको अन्नलाई विभिन्न परिकार भनाई सामूहिक रुपमा नाचगान रमाईलो गर्दै खाने परम्परा रहेको पूर्खहरूको भनाई रहेको छ । केही वर्षदेखि यो परम्परा काठमाण्डौमा पनि मनाउँदै आएको छ । घर–घरमा गएर मंगल कामनाको पाठ गर्दै शुरु गरेर यसै परम्परासँग सम्बन्धित गीत गाउँदै माग्ने गर्दछ । घर मालिकले आफ्नो घरमा पाल्नु भएका पाहुनाहरू सबै जनालाई खादा लगाई स्वागत गरी आफ्नो गच्छे अनुसार दान दिने गर्दछ ।  घर मालिकले दान दिएपछि अर्शिवाद र शुभकामना दिने यसको छुट्टै मौखिल परम्परा रहेको छ । अन्तमा खुश्यालीका साथ परम्परागत नाचगान गर्दै यो पर्व मनाउँने गरेको पाईन्छ ।

४. धर्म र संस्कृति संरक्षणमा देखिएका समस्या र चुनौतीहरू

शेर्पाहरू अध्ययन, अध्यापन तथा व्यवसायको कारण हाल देशको विभिन्न स्थान तथा विदेशमा पनि छरेर रहेका छन् । ठाउँ अनुसारको भाषामा पनि केही भिन्नता देखापर्नु स्वभाविक नै हो । त्यसैले शेर्पा भाषा, धार्मिक परम्परा र संस्कृतिमा पनि ठाउँ अनुसारको केही भिन्नता रहेको देखिन्छ । यदि सबै शेर्पाहरूले आफ्नो भाषा, लिपिको अध्ययन गरेको भए आफुले बोलेको भाषा, धार्मिक परम्परा र संस्कृति कतिको सही छ भन्ने आफैले छुटाउन सकिन्छ । तर अहिले हाम्रो समाजमा भाषा, धर्म र संस्कृति सम्बन्धी अध्ययन गर्ने युवाहरू अति न्युन रहेको देखिन्छ । हालसम्म शेर्पा भाषा, धर्म, संस्कृति सम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धन गर्ने गराउने शिक्षालय स्थापन हुन सकेको छैन । समय अनुकूल शेर्पा भाषा, लिपिमा पाठ्यपुस्तक विकास हुन सकेको छैन । शेर्पा भाषा, लिपि अध्यापन गराउँन सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन । शेर्पा विद्यार्थीहरूको बाहुल्यता रहेको विद्यालयमा शेर्पा मातृभाषाको पठनपाठ्न गराउँन नसक्नु, शेर्पाहरूको मातृभाषा, धर्म, संस्कृति संरक्षणको लागि शेर्पा समुदाय तथा यस क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरूले राज्यको सम्बन्धित निकायहरूमा पहल गर्नु नसक्नु नै शेर्पा समुदायको कम्जोरी रहेको देखिन्छ । 

५. निष्कर्ष ः

शेर्पाहरूले आफ्नो धर्म र संस्कृतिको संरक्षण गर्नको लागि शेर्पाहरूको बाहुल्यता भएको ठाउँमा शेर्पा भाषामा अध्ययन अध्यापन गर्ने गराउने स्वतन्त्र शेर्पा विद्यालय, पुस्तकालय आदि शैक्षिक केन्द्रहरूको स्थापना गर्नु अति आवश्यकता देखिन्छ । मातृभाषामा कम्तिमा पनि माध्यमिक कक्षासम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकको विकास गरी विद्यालयहरूमा अध्ययन अध्यापन गराउने व्यवस्था मिलाउनु पर्दछ । हालसम्म यसको अभावको कारणले शेर्पा युवाहरू आफ्नो लिपि हुँदा हुँदै पनि देवनगरी र रोमन लिपिमा आफ्नो भाषा लेखेर मातृभाषा सिक्ने गरेको पाईन्छ । उनीहरूले सिकेका शेर्पा भाषाको उच्चारण कुनै विदेशीले शेर्पा भाषा बोलेको भन्दा केही फरक देखिदैन । दुःखको कुरा शेर्पाहरू आफ्नै लिपि हुँदा हुदै पनि देवनगरी र रोमन लिपिको सहारा लिएर शेर्पा भाषा सिक्नेहरू धेरै देखिन्छ । देवनगरी र रोमन लिपिमा लेखिएको शेर्पा भाषाको न कुनै व्याकरण छ न सही उच्चारण । अहिलेको युवाहरूले यस्तै तरिकाले शेर्पा भाषा सिक्ने र सिकाउने हो भने कुनै दिन विदेशीहरूबाट शेर्पा भाषा र लिपि सिक्नु पर्ने दिन नआउला भन्न सकिदैन । किनभने विदेशीहरूले शेर्पा भाषा, धर्म, संस्कृतिमा अध्ययन, अनुसन्धान गर्न थालेका छन् । धेरैले शेर्पाको विषयमा पुस्तक पनि प्रकाशन गरिसकेको अवस्था छ । 
    
अबका दिनहरूमा शेर्पा संघ संस्थाहरूले युवाहरूलाई भाषा, धर्म, संस्कृतिको अध्यापन गराउनुको साथै संरक्षण, संवद्र्धन र विकास गर्ने तर्फ प्रोत्साहन गराउनु पर्दछ । बैठक, कार्यक्रम आदि गर्दा आफ्नो भाषा, धर्म र संस्कृतिलाई प्राथमिकता दिनुपर्दछ । आमा–बुवाहरूले आफ्नो बाल–बच्चाहरूलाई सानैदेखि शेर्पा भाषा, धर्म संस्कृतिको विषयमा ज्ञान दिलाउनु पर्दछ । शेर्पालाई जीवित राख्ने हो भने शेर्पा भाषा, धर्म र संस्कृतिलाई बचाउनु पर्दछ । भाषा, धर्म र संस्कृति बिना कुनै समुदायको अस्तित्व नै रहन सकिदैन ।
भवतु सर्व मंगलम् ।

सन्र्दभ ग्रन्थ ः

१. छोटक, ग्युर्मे ः २००८, श्यार्वी छिक्जो कुन्साल मेलोङ, 
२. शेर्पा लामा, खेन्पो सांग्य तेन्जीन ः २०६९,शेर्पाहरूको इतिहास र वंशावली, 
नेपाली अनुवादक तथा सम्पदाक खेन्पो ङवाङ वोसेर शेर्पा लामा
३. ,,    ,,    ,,    ,,    ः    मोला, २०५० 
नेपाली अनुवादक तथा सम्पदाक खेन्पो ङवाङ वोसेर शेर्पा लामा
४.                 राष्ट्रिय जनगणना २०६८ संक्षिप्त नतिजा, केन्द्रीय तथ्याङ्क विभाग
- सदस्य, विद्या परिषद्
लुम्बिनी

Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’