नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष दोर्जे लामा शेर्पाको निधन भएको छ । राउण्ड मनासलु जाने क्रममा सुख्खा पहिरोमा परि दोर्जेसहित ४ जनाको निधन भएको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत रहेका दोर्जेसहित छिरिङ शेर्पा, रञ्जना वस्नेत र दुई जना विदेशी नागरिकको समेत ज्यान गएको प्रहरीले पुष्टि गरे । गोरखाको तातोपानी र दोवान भन्ने ठाउँको वीच भागमा सुख्खा पहिरोमा परि दर्जन घाइते भएको अनुमान प्रहरीको छ । घटनामा ज्यान गुमाएका दोर्जेसहितको शव प्रहरीले फेला पारेको छ भने घाइतेहरुलाई ललितपुरको वयोधा हस्पीटलमा ल्याएर उपचार भइरहेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका सदस्य लामबाबु शेर्पाले जानकारी दिए । घाइते अधिकांशको टाउकोमा चोट लागेका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको जनाएको छ । पहिचान भएको शवहरुको मुचुल्का तयार पार्न आरुघाटबाट प्रहरी त्यसतर्फ परिचालन भएको आफूहरुलाई जानकारी प्राप्त भएको सदस्य लामबाबुले जानकारी दिए । शुक्रबार विहानसम्म मृतकहरुको शव राजधानी ल्याउने प्रहरीले जनाएको छ । विहान ९ बजेसम्ममा शव आउन नसकेमा संघका पदाधिकारीहरु रेसक्यू ‘हेलीकोपटर’ लिएर शव लिन जाने तयारी गरेको जनाएको छ । घटनाको सम्बन्धमा विस्तृत जानकारी आउन अझै सकेको छैन । घटना विहान ८ः०० बजेतिर भएको हुन सक्ने संघका निर्वतमान अध्यक्ष पेम्वा ग्याल्जे शेर्पाले जानकारी दिए । घटनको सम्वन्धमा जिल्ला प्रशासन कार्यालय गोरखाले आधिकारीक पुष्टि गरेको छ ।
को हुन दोर्जे लामा शेर्पा ?
नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष दोर्जे लामा शेर्पा चौथो कार्यकालका लागि अध्यक्ष हुन् । बकान्जे छुरुङ सोलुखुम्बुमा जन्मिएका ३५ बर्षिय दोर्जे अन्तराष्ट्रिय पर्वतारोही प्रशिक्षक हुन् । १५ बर्षअघि देखि पर्वतारोही प्रशिक्षकको रुपमा कार्यरत थिए । राजधानीको गोकर्णमा वस्दै आएका दोर्जेको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
Comments
Post a Comment