१७ कार्तिक २०७२
बुद्ध धर्म परम्परामा शताब्दियौंको अन्तरमा मात्रै हेर्न पाउने दृष्य मंगलबार राजधानीको बौद्धमा देखियो । भुकम्पले भत्काएको बौद्धनाथ स्तुपाको मुख्य मेरुदण्ड शोकसिङ ५ सय भन्दा बढि बौद्ध गुरुहरुको उपस्थितिमा प्रतिस्थापन गरिएको हो । कुनै पनि स्तुप वा छ्योर्तेन निर्माण तथा पुर्ननिर्माणमा प्रतिस्थापन गरिने शोकसिङ हेर्न सयौं बर्ष पर्खिनुपर्ने हुन्छ ।
‘यो विरलै हेर्न पाउने अवसर हो’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्णकुमार लामाले भने, ‘त्यही भएर यसलाई महोत्सवकै रुपमा लिइन्छ ।’ संस्कृतमा ‘एस्ती दारु’ भनिने शोकसिङ परम्परा निकै पुरानो हो । लामाका अनुसार स्तुपाको मुख्य मेरुदण्ड मानिने शोकसिङको एक महिना अघिदेखि नै तयारी थालिन्छ । स्तुपको भित्री प्राण मानिने यो अग्राखबाट तयार हुन्छ ।
झापाबाट ल्याइएको १६ फिट अग्लो अग्राखलाई शोकसिङ बनाएर प्रतिस्थापन गरिएको लामाले बताए । ‘चारैवटा बौद्ध सम्प्रदायका गुरुले तिन हप्ता पुजा विधि गरेपछि मात्रै शोकसिंङ तयार हुन्छ’ लामाले भने, ‘यसपछि अग्राखको लिंगोमा पञ्चबुद्ध चित्र र सुनको अक्षरबाट पदमसंभवका सुत्रहरु कुँदिन्छ ।’ बौद्ध स्तुपमा भने झण्डै आधा शताब्दीपछि शोकसिङ फेरिएको हो । २०२६ मा आगलागी हुँदा फेरिएको शोकसिङ बैशाख १२ को भुकम्पले भुकम्पले भत्काएपछि नयाँ हालिएको हो ।
बौद्ध मान्यता अनुसार बुद्धले देवलोकबाट पृथ्वीमा अवतरण गरेको दिन ‘ल्हाभव दुइछेन’ को साइत जुराएर सेतो गुम्बाका गुरु छोग्लिङ रिम्पोछे, छ्योइकी रिम्पोचे, सेचन गुम्बाका खेन्चे रिम्पोछेका अवतारी, ङिङमा सम्प्रदायका नाम्खा रिम्पोछे, चिनिया राजदुत वु छुन्ताई लगायतले बौद्ध विधि अनुरुप शोकसिङ प्रतिस्थापन गरेका हुन् । यो संगै औपचारिक रुपमा बौद्धनाथ स्तुपको जिर्णोद्धार सुरु भएको समितिका अध्यक्ष लामाले जनाए ।
भुकम्पले स्तुपको आधी भाग पुरै भत्किएको छ । ‘ल्हाभव दुईछेन’ कै साइत पारेर अर्कोबर्षसम्म स्तुप जिर्णोद्धार भइसक्ने अध्यक्ष लामाले बताए । सुनको मोलम्बा सहित जिर्णोद्धारका लागि १८ करोड रुपियाँ खर्च हुने उनले जनाए ।
साभार कान्तिपुर
Comments
Post a Comment