शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रेम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइतमै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा ( सानीआमा ) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ ।
त्यस्तै विविध "रु" अथवा "थर" हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै "लामा र च्यावा" हुनेको अन्य जुनसुकै "रु" सँग विहेवारी चल्छ भने "पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा" आदी प्रकारको "रु" हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र "सलाका, गोपर्मा, खम्बचे" आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ ।
गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता "रु" र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।
शेर्पा जातिको विवाहमा पुर्याउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरूको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरूको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुन्न भन्ने हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृया लाई "ठिज्यङ" भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई "लोङज्यङ" भनिन्छ । केटा र केटीको विवाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई "पेज्यङ" भनिन्छ । यसमा पनि छ्याङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतीबाट विवाहको मिति तोकिएपछि विवाहको तयारी सुरु गरिन्छ । विवाहको समयमा खुवाउने छ्याङको लागी केही अन्न वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छ्यावी भनिन्छ ।
विवाहको मिति तोकिएपछि सबभन्दा पहिले विवाहको कार्यको जानकारी सहित आफुनो नातेदारहरू, हितैषीहरू र साथीहरू लाई विवाहको कार्यक्रममा सरीक हुन निमन्त्रणा "देन्ज्यङ" पठाउने काम हुन्छ ।
जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म "सिपखोलु" को पुजा गरिन्छ । सिपखोलुलाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सबभन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपखोलुलाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेनको बखु, रातो जालीदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको "दत्तर" र हातमा "फुम्बा" (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घरबाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरू सगुन स्वरुप राखिन्छ । यसलाई "सुजर्यङ" भनिन्छ । यस्ता सगुनहरू प्रायः गरी दुलहाको विवाहीत दिदीबहिनीहरूले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरूलाई दुलहाले उपहार दिने चलन छ । जन्ती प्रस्थान देखी दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई "क्याल्मी" भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ती प्रस्थान गरिने समयमा जन्तीमा जानेहरू सबैलाई चिनाउन निधारको बिचमा टिका लगाउने चलन छ ।
जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु "लामा" बोलाइ सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरू, छरछिमेकीहरू भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीहरूलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ ।
जन्तीहरू बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यक्रम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई "सील्ज्याङ" भनिन्छ । यसपछि दुलहीको माईतीहरूलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छ्याङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पुजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ ।
यसपछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आफ्नो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई "मोला" भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ ।
यसपछि दुलहाले दुलहीको माईतीका मान्यजनहरूलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरूलाई "याङजी" गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरू चौँरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउदै "एहोक एहोक" भन्दै नाच्न थाल्छन, यस नाँचलाई "सिली नाँच" भनिन्छ भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँच्छन । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तीलाई बिदाई गरिन्छ ।
यसरी विवाह सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई लिएर दुलहाको घरमा फर्किन्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई "टशिसोलुप" भनिन्छ । विवाह भएको केही दिनपछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फर्किन्छ यसलाई "कर्म लोउ" भनिन्छ ।
Comments
Post a Comment